१ साउन, काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार, दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो ।
समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । उता भारत ए ले पहिलो खेलमा यूएई ए लाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।
भारत ए को कप्तानी यू(१९ विश्वकप विजेता कप्तान यस डुलले गर्नेछन् जहाँ इन्डियन प्रिमियर लिग आईपीएल खेलेका खेलाडीहरुको वर्चस्व छ । साई सुदर्शन, अभिषेक शर्मा, रियान पराग, निशान्त सिन्धु, हर्षित राणा, आकाश सिंह, नितिशकुमार रेड्डी, मानव सुथार, ध्रुव जुरेललगायतका खेलाडी पनि भारतीय टोलीमा छन् । भारतको ब्याटिङ र बलिङ दुवै सन्तुलित देखिएको छ ।
नेपालले अगष्ट-सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामै हुने एसिया कपमा पनि समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।



