काठमाण्डौ । पहिले वेलनेस भनेको जिम, डाइट प्लान वा महँगो रुटिनमै सीमित हुने कुरा जस्तो लाग्थ्यो। तर आज नेपालमा टिकटक खोलेर हेर्दा अर्कै कथा देखिन्छ जहाँ क्रियटरहरूले छतमा उभिएर सूर्यनमस्कार गर्ने, घरमै बनाइने स्थानीय स्वादका परिकारबारे बताउने र दिनचर्या सुधार्ने ससाना आनीबानी सिकाउने गर्छन्। अहिले यो एपले स्वास्थ्यका लागि ठूलो परिश्रम गर्नु पर्दैन, स-साना अभ्यासहरू गरेर जोकोहीले सजिलै तन्दुरुस्ती हासिल गर्न सक्छन् भनेर सम्झाइरहेको छ।
टिकटकको सबैभन्दा ठूलो आकर्षण भनेको छोटो र हेर्नेबित्तिकै बुझिने भिडियो कन्टेन्ट हो। यसले क्रियटरहरूलाई फिटनेस रुटिनलाई छोट्याएर स-साना स्टेपहरू सजिलो तरिकाले देखाउन सहयोग गर्छ, जसले गर्दा घरमै बसेर पनि सजिलै व्यायाम गर्न सकिन्छ। हाल बिहानको योग, क्विक स्ट्रेचिंगको भिडियोहरू र मिनी वर्कआउट च्यालेन्जहरू निकै लोकप्रिय छन् जसले मानिसहरूलाई हरेक दिन #healthynepal, #mentalhealthnepal, #selfcare, #mindfuleating जस्ता कुरामा ध्यान दिन प्रेरित गर्छन्। धेरै नेपालीले यी रुटिन अपनाउनुको कारण यो तरिका व्यस्त जीवनमा पनि अपनाउन मिल्ने र यसका लागि महँगो उपकरण नचाहिने भएर हो। सामान्य मानिस र स्थानीय ट्रेनरहरूले यी तरिका अपनाएको देख्दा साधारण प्रयोगकर्ताहरूलाई पनि यसले सामुहिकता र हौसलाको भावना जागृत गर्दछ।
स्वस्थ खानेकुराका सम्बन्धमा पनि टिकटकमा ठूलो जागरण आएको छ। @sandhyasubedi र @nutrifitnepal जस्ता नेपाली क्रियटरहरूले सरल, सस्तो र रैथाने सामग्री प्रयोग भएका रेसिपीहरू शेयर गर्छन्। अव्यावहारिक डाइट भन्दा उनीहरूले नेपाली जीवनशैलीसँग मिल्ने सन्तुलित खाना तयार गर्न सिकाउँछन्। छोटा भिडियोहरू मार्फत मानिसहरू परम्परागत परिकारलाई अझ स्वस्थ बनाउने तरिका, चाँडो बन्ने लन्चबक्सको आइडिया र पोर्सन कन्ट्रोल जस्ता कुराहरू सिकिरहेका छन्। यी फुड क्रियटरहरूले दिने प्याकेटको लेबल पढ्ने तरिका, सम्पूर्ण अन्न खाने, पानी पिउन नबिर्सने जस्ता ससाना सुझावहरूले पनि भ्युअरलाई निश्चिन्त भएर राम्रो विकल्प छान्न मद्दत गर्छ।
मानसिक स्वास्थ्यको कुरा पनि टिकटकले धेरै खुला बनाइदिएको छ। @nehabanu र @health.nepal जस्ता नेपाली क्रियटरहरूले सचेतना, तनाव व्यवस्थापन र सेल्फ-केयरका कुराहरू सरल र बुझिने भाषामा गर्छन्। ब्रेक लिनु, डायरी लेख्नु, सास फेर्ने एक्सरसाइज वा सकारात्मक सोच राख्ने जस्ता छोटा रिमाइण्डरले मानसिक स्वास्थ्यलाई सामान्य बनाउन मद्दत गरेको छ। विशेषगरी युवाहरूले यी क्रियटरहरूलाई मन पराएका छन् किनकि उनीहरूले पढाइको दबाब, बर्नआउट, ओभरथिंकिंग जस्ता दैनिक जीवनमा आइपर्ने समस्याकै बारेमा कुरा गर्छन्।
वेलनेस च्यालेन्जहरूले पनि स्वस्थ बानी बसाल्न राम्रो भूमिका खेलेका छन्। “दिनमा १०,००० कदम हिँड्ने” वा “एक हप्तासम्म चिनी नखाने” जस्ता च्यालेन्जहरूले मानिसलाई यस्ता ट्रेण्डमा सहभागी हुन र आफ्नो प्रगति ट्र्याक गर्न उत्साहित बनाउँछन्। यी च्यालेन्जहरू सजिलै गर्न मिल्ने र रमाइलो हुने भएकाले यिनले स्वस्थ बानी सुरु गर्न मद्दत गर्छन्। मानिसहरूले आफ्नै प्रयासहरूको कन्टेन्ट पोस्ट गर्ने हुँदा सबै खाले भ्युअरले आफूले पनि गर्न सकिने रहेछ भन्ने हौसला पाउँछन्।
नेपालमा टिकटकले स्वास्थ्यप्रतिको सोच बदलिएको देखाउँछ। बुद्धिमानी तरिकाले प्रयोग गर्दा डिजिटल प्लेटफर्मले कति सकारात्मक प्रभाव पार्न सक्छ भन्ने प्रमाण यही हो। घरेलू उपायहरू, वास्तविक आनीबानी र प्रेरणादायी कथाहरू शेयर गरेर क्रियटरहरूले “स्वस्थ जीवनशैली”को अर्थलाई सजिलो र व्यवहारिक बनाइदिएका छन्। अब वेलनेस टाढाको कुरा रहेन, टिकटकका छोटा भिडियोहरू मार्फत् यो अब सहज अभ्यासबाट गर्न सकिने मौलिक जीवनशैली बनिसकेको छ।

