काठमाडौं । विश्वव्यापी मोबिलिटी एन्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेल मैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सक्रिय रूपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्याउनु रहेको इनड्राइभले बताएको छ ।
यस क्याम्पेनमार्फत विद्यालयका खेलमैदानलाई आधुनिक र सुरक्षित बनाउन सहयोग गरिएको छ जसले विद्यार्थीहरूलाई खेलकुदप्रति रुचि बढाउने, टीमवर्कको भावना विकास गर्ने र स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
अंग्रेजी ‘मे’ महिनाभरि सञ्चालन गरिएको यस अभियानको माध्यमबाट, प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम,चयन गरिएका पब्लिक प्राइमरी विद्यालयहरूको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरू उपलब्ध गराउन खर्च गरिएको थियो ।
यस अभियानले निम्न कार्य सहयोग पुर्याएको छ :
● विद्यालयका खेलमैदानहरूको पूर्वाधार मर्मत तथा सम्वर्धन गरियो, जसले गर्दा बालबालिकाहरूका लागि सुरक्षित, सफा र रमाइलो खेल तथा मनोरञ्जनको वातावरण निर्माण ।
● बालबालिकाहरूलाई सानै उमेरदेखि खेलकुदमा संलग्न गराउने र शारीरिक गतिविधिप्रति रुचि बढाउने हेतुले बास्केटबल, फुटसल, ब्याडमिन्टन र्याकेट लगायतका स्पोट्र्स किटहरू वितरण ।
“इनड्राइभमा हामी दृढ विश्वास गर्छौं कि मोबिलिटी केवल यात्राको सुविधा मात्र होइन, समुदाय सशक्तीकरण र समावेशी विकासतर्फको मार्ग पनि हो,” इनड्राइभ एपीएसी कम्युनिकेसन लिड पावितनन्दा आनन्दले भनिन्,“राइड्स फर गोल्स’अभियानले विद्यालयका बालबालिकालाई स्वस्थ र सकारात्मक वातावरणमा खेल्न सहयोग गरेर उनीहरूको सम्पूर्ण विकासलाई प्रत्यक्ष समर्थन पुर्याउँछ । हामीलाई टिमवर्क, आत्मविश्वास, र नेतृत्व जस्ता सीपहरू विकास गर्न सक्ने ठाउँ निर्माणमा योगदान गर्न पाउनुमा अत्यन्त गर्व छ ।”
इनड्राइभ एशियाप्यासिफिक क्षेत्रका रिजनल डाइरेक्टर मार्क टोलीले पनि यस अभियान प्रति आफ्नो उत्साह व्यक्त गर्दै भने, “राइड्स फर गोल्स’ एउटा प्रेरणादायी उदाहरण हो-जहाँ राइड गर्ने जस्तो दैनिक साधारण क्रियाकलाप-समाजमा सार्थक परिवर्तन ल्याउने शक्तिशाली माध्यम बन्न सक्छ । हामी सधैं यस्तो परियोजनामा संलग्न रहन्छौं, जसले दिगो मूल्य सिर्जना गर्छ र सामुदायिक स्तरमा सकारात्मक प्रभाव पार्छ । यो पहल खेलको माध्यमबाट प्रत्येक बालबालिकालाई अवसर, रमाइलो, र विकासको पहुँच सुनिश्चित गर्ने दिशातर्फको एक महत्त्वपूर्ण कदम हो ।”
'राइड्स फर गोल्स’ इनड्राइभकोे उद्देश्यसँग गहिरोसँग जोडिएको छ, जसले सामाजिक समानता प्रवर्द्धन गर्ने र सेवायुक्त तथा विकासशील क्षेत्रहरूमा सकारात्मक योगदान दिने लक्ष्य राखेको छ । यस क्याम्पेनमार्फत इनड्राइभले स्कुल बालबालिकाको भौतिक तथा मानसिक विकासमा जोड दिएको छ र समुदायको भविष्य निर्माणमा पनि आफ्नो सक्रिय भूमिका पुष्टि गरेको छ ।



