काठमाडौं । तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको छिल्लीकोट हावापानी, घुमफिर र पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर ठाउँ हो । यो ठाउँ ऐतिहासिक र धार्मिकरुपले परिचित छ । तुलसीपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छिल्लीकोट घुम्न जानेको सङ्ख्या पछिल्लो समय बढ्दो क्रममा छ ।
छिल्लीकोटका राजा मेघनाथ शाहका पालामा बाइसेचौबिसे राज्य हुँदा शासन गरेको तीन जिल्लाको मालअड्डाका रुपमा यो क्षेत्रलाई चिनिन्छ । धार्मिक हिसाबले शिव पत्नी सतीदेविको कुम पतन भएको पीठका रुपमा पनि छिल्लीकोट चिनिँदै आएको छ । यहाँ रहेका मालिका र कालिका मन्दिर एतिहासिक महत्वका छन् ।
अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुईवटा सडक प्रयोग गरेर पर्यटकहरू यहाँ आउने गरेका छन् । त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुग्ने गरिन्छ । छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सम्पन्न भए झनै सहज हुने छ र पर्यटकको सङ्ख्या थप बढ्ने छ । अहिले पनि कहिलेकाहीँ दैनिक एक हजार ५०० सम्म पर्यटकले अवलोकन गर्ने गरेका छन् ।
छिल्लीकोटमा निर्माण भएको भ्यूटावर, कालिका–मालिका मन्दिर, राजा बसेको दरबारको भग्नावशेष, छिल्लीकोटबाट देखिने सिस्ने, धौलागिरिलगायतका हिमाल, दाङका फाँट, सल्ल्यान, रोल्पा, रुकुमका पहाडी भेग, छिल्लीकोटमकै मालागिरि, त्यहाँ बनेको जिपलाइनलगायत अवलोकन गर्न त्यहाँ पर्यटक पुग्ने गर्छन् ।
मुलुकमा तीन ‘गिरि’ छन् । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौँको उत्तरी भू–भागमा पर्दछ । यस्तै मल्लागिरि दाङको छिल्लीकोटमा रहेको छ । त्यसले गर्दा पनि पर्यटकको आकर्षण बढेको जनाकारहरू बताउँछन् । यहाँ कालिका र मालिका मन्दिर निर्माण गरिएका छन् । मन्दिर र भ्यूटावर पुग्नका लागि सिडी बनाइएको छ ।
यस क्षेत्रमा केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ भने प्याराग्लाइडिङको सफल परीक्षण पनि भइसकेको छ । यी दुवै कार्यसम्पन्न भएमा यो क्षेत्र नेपालकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्ने स्थानीयको विश्वास छ ।
नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाहले नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको बताइन्छ । तत्कालीन अवस्थामा छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालन गरिएको विसं २००६ सालसम्म त्यो यहाँ रहेको जानकारहरू बताउँछन् । त्यसकारण पनि यसको महत्व रहेको बताउने गरिएको छ ।
पछिल्लो समय यस क्षेत्रको पर्यटकी विकासका लागि काम भइरहेका छन् । यहाँ सातमूलेबाट ‘लिफ्टिङ’ गरेर पानी ल्याइएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले व्यवस्थापन गरिरहेको छ ।



