२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिडन्त

नेपालको मैदानमा विदेशी खेलाडीको आकर्षण, दर्शकमा उत्साह


सञ्चार डबली
  • शनिबार, मंसिर १५ २०८१
  • 9.2K
    SHARES

  • images
    एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिडन्त

    १५ मंसिर २०८१, शनिबार

    काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ।

    स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो। त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ। त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ। यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ। यही मङ्सिर १२ गते नै टिकट बुक गरिसक्नुभएका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताउनुभयो।

    त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ। विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो। भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन्। त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो।

    आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ।

    जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुनुहुन्छ। दासानायकेले सुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हाल्नुभएको थियो। त्यसदौरान उहाँकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो। त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलोदशमा भएको विश्वकपमा सहभागितासमेत जनाएको थियो। उहाँकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त रहेको छ।

    जनकपुरका कप्तान अनिल शाहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताउनुभयो।

    विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन्। विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताउनुभयो।

    विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन्। विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन्। टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन्। उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ।

    त्रिविमा अध्ययनरत विधार्थीलाई टिकट मुल्यमा छुट

    एलपिएलमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ। प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किङ्ग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ। रासस

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend