गोरखा, ३० कार्तिक । गोरखा एक ऐतिहासिक जिल्ला हो । गोरखा घुम्न आउने विदेशी पर्यटक मात्र होइन आन्तरिक पर्यटकहरुका लागि पनि ऐतिहासिक गोरखा दरवार, धार्मिक आस्थाको रुपमा रहेको छ । यहाँ प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, मनकामना मन्दिर र गोरखा दरवार सङ्ग्राहलय पर्यटकिय गन्तव्यको रुपमा रहँदै आएका छन् ।
पर्यटकिय गन्तव्यहरुसंगै राष्ट्रिय विभूति भीमसेन थापाको जन्मथलोमा रहेको भीमसेन पार्क नयाँ पर्यटकको रुपमा विकास हुँदै गएको छ । गोरखा नगरपालिका–४, फिनाम स्थित भीमसेन थापाको जन्मथलो पिपलथोकमा रहेको भीमसेन पार्क पछिल्लो समय गोरखा आउने आन्तरिक पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा विकास भएको छ ।
विशेष गरेर शैक्षिक भ्रमणमा आउने अघिकांस पर्यटकहरु राष्ट्रिय विभूति थापाको स्मृतिमा निर्माण गरिएकोे भीमसेन पार्कको अध्ययन र अवलोकन गर्न पुग्ने गरेका छन् ।
जिल्ला भित्रका मात्र होइन बाहिरी जिल्लाबाट दैनिकजसो भ्रमणमा आउने गरेका विद्यार्थीहरु लगायतका अन्य आन्तरिक पर्यटकहरु भीमसेन पार्क हेर्न आउने पार्क रेखदेख गर्दै आउनुभएकी निर्मला शर्मा वाग्लेले बताउनुभयो । गोरखनाथ मन्दिरबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने भिमसेन पार्कबाट सूर्योदय, सूर्यास्त, मनास्लु हिमाल, हिमालचुली हिमाल,गणेश हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रे लगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ ।
गोरखा सङ्ग्राहलय भन्दा उचाइमा रहेको यो स्थानबाट छिमेकी जिल्ला लम्जुङ,तनहँ र छिमेकी पालिकाहरु भिमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, पालुङ्टार नगरपालिका, शहिद लखन गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका लगायतको अवलोकन गर्न सकिन्छ । केहीदिन यता मात्रै करिब ७ सयजनाले भीमसेन पार्क आएर अवलोकन भ्रमण गरेको उहाँले बताउनुभयो ।
पाल्पा, पर्वत, बाग्लुङ, संखुवासभा, झापा, तनँहु लगायत गोरखा घुम्न आएका अघिकांस पर्यटकहरु एक पटक भीमसेन पार्क आउन थालेको वाग्लेको भनाई छ । पार्क हेर्न र घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि प्रवेश शुल्क वापत १० रुपैया र विद्यार्थीहरुका लागि ५ रुपैया टिकट काट्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
पार्कमा आएर भीमसेन थापाको पूर्णकदको शालिकमा तस्विर खिचाउन पाउदा विद्याथीहरु खुशी हुने गरेको वाग्लेको भनाई छ । भीमसेन पार्क ऐतिहासिक दृष्टिकोणले मात्र होइन मनोरम दृष्यले पनि साच्चै मनमोहक रहेछ ।

