२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

अन्नपूर्ण आधार शिविरः पर्यटकसँगै फोहरको चुनौती, व्यवस्थित शौचालयको अभाव


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २३ २०८१
  • 7.4K
    SHARES

  • अन्नपूर्ण आधार शिविरः पर्यटकसँगै फोहरको चुनौती, व्यवस्थित शौचालयको अभाव

    काठमाडौं । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे । पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिनाबाहेकका समयमा दैनिकजसो पर्यटक पुग्ने गरेका छन् ।

    आन्तरिक पर्यटकको रोजाइमा परेको अन्नपूर्ण आधार शिविर र त्यहाँ जाने ‘मौरिस हर्जोग’ पदमार्गमा पाहुनाको बसाइ व्यवस्थापन र बढ्दो प्रदूषण चुनौती बनेको छ । मौरिस हर्गोज पदमार्गमा पर्यटक लैजान सहजीकरण गरिरहेका सुरेन गुरुङले पदयात्रीहरूले फालेको प्लाष्टिक, स्टिल र सिसाजन्य फोहरका कारण प्रदूषण बढेको बताए ।

    “पदमार्ग र आधार शिविरमा प्लाष्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको छ”,“कुहिने फोहरलाई खाडलमा गाड्ने, नकुहिनेलाई व्यवस्थापन नगर्ने हो भने यहाँको सुन्दरतामा असर पर्न सक्छ ।” कति मात्रामा फोहर छभन्ने यकिन नभए पनि पदयात्रीले सामान राखेर लगेका प्लाष्टिक, बोरा, बट्टा, बोत्तल, कपडा र ग्यासको खाली सिलिण्डर यत्रतत्र फालेका भेटिने गुरुङले बताए ।

    अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार चालु शरदयाममा करिब चार हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । यो याममा हालसम्मकै धेरै सङ्ख्यामा पर्यटक अन्नपूर्ण आधार शिविर गएका उनले बताए।

    बेनी, काठमाडौँ, पोखरा, बागलुङ, चितवनलगायत सहरबाट विशेष गरेर जागिरे र युवायुवतीहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा आएका छन् । तीन दिनको छोटो अवधिमा साहसिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।

    पदमार्गमा व्यवस्थित शौचालयको पनि अभाव छ । फुतफुते भरना नजिकै रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

    भुसकेतमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा गत वर्ष शौचालय निर्माण भएको थियो । सम्धीखर्क, आरोहण आधार शिविर र पञ्चकुण्ड तालको आश्रयस्थलमा बास बस्ने पर्यटकलाई शौचालयको समस्या भएको बेनीका कनक प्रधानले गुनासो गरे ।

    फोहर बढेपछि अन्नपूर्ण गाउँपालिका र घराम्दीका खेलाडीको टोलीले पछिल्लो एक महिनाको अवधिमा दुईपटक उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरेका छन् । हाल बेलायत बस्दै आएका धनकुमार पाइजाको सहयोगमा घराम्दीका भलिबल खेलाडी १९ जनाको टोलीले गत असोज १७ देखि १९ गतेसम्म कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर जलाएका थिए ।

    यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको नेतृत्वमा स्थानीय युवाहरूको टोलीले गत हप्ता पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरिएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend