काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गरेर सत्ता गठबन्धनमा सामेल भएको रास्वपाले गठबन्धन गरेर उम्मेदवारी दिन सक्ने चर्चा भइरहेका बेला पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
‘हामीले उपनिर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेका छौँ । तर तीनवटै क्षेत्रमा हाम्रो उम्मेदवारी हुन्छ,’‘उपनिर्वाचनका लागि दल दर्ता गर्ने र उम्मेदवार छनौटका लागि प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ ।’
बैठकले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणेश कार्की नेतृत्वमा निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ । बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमा समेत छलफल भएको उपसभापति अर्यालले जानकारी दिए । रासस



