काठमाडौं, साउन २८ । बहुचर्चित लोकदोहोरी गीत ‘भिर्नी झोलामा’की गायिका सरस्वती लामिछाने नयाँ तीजगीत ‘सैनाले दिएको ऐना’ लिएर आएकी छन्।
लामिछानेको एकल स्वर रहेको गीतको शब्द र संगीत शिव हमालको रहेको छ भने एरेन्ज कृष्ण केसीको रहेको छ। गीत गायिका लामिछानेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा गाउँली चेलीकोे व्यथालाई प्रस्तुत गरिएको छ। माइतीघरमा छँदा दुध र दही नखाएकी चेलीले घरमा मोही खान नपाएको, श्रीमान जड्याहा परेको, सासूससुराले काममा जस नदिएको, दाजुले सम्झाउँदा नटेरेर कलिलै उमेरमा प्रेम विवाह गरेका कारण दुःख पाएको घटनाक्रमलाई प्रस्तुत गरिएको छ।
गीतको म्युजिक भिडिओमा सञ्चिता बोलाखेँको अभिनय रहेको छ। जेरी भण्डारीले निर्देशन गरेको भिडिओ छायांकन दुर्गा पौडेल र सम्पादन अमृत चापागाईंको रहेको छ।



