काठमाडौं, साउन २३ । काभा महिला भलिबल नेसन्स लिगमा नेपाली राष्ट्रिय महिला भलिबल टोली साविक विजेता भारतसँग स्तब्ध बनेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित हुँदै लगातार भारतलाई जित्ने सूवर्ण मौका गुमाउन पुग्यो। भारतले लगातार दोस्रो पटक उपाधि उचालेको हो।
पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १४–२५ ले गुमाउन पुग्यो। तर तेस्रो सेटमा २५–२२ को जित निकाल्दै नेपालले खेलमा पुनः अग्रता बनाएको थियो। तर चौथो सेट भने नेपालले २१–२५ ले गुमाउन पुग्यो। तर पाँचौ तथा अन्तिम सेट नेपालले ५–१५ ले गुमाउँदा नेपाल रजत पदकमा चित्त बुझाउन बाध्य भयो।
पहिलो सेटमा सुरुवातबाट नै अग्रता बनाएको नेपालले बीचमा केही लय गुमाउन पुग्यो। यद्यपी अन्तिममा सम्हालिदै पहिलो सेट आफ्नो पक्षमा पारेको थियो।
दोस्रो सेट सुरुवातबाट नै प्रतिस्पर्धात्मक देखिएपनि नेपालले लय गुमाउँदा सेट गुमाउन पुग्यो। तेस्रो सेटमा नेपालले सुरुवातबाट नै अग्रता बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो।


