२०८१, असार १२ गते
सञ्चारडवली
काठमाण्डौं - ठमेल नेपालकै केन्द्रीय पर्यटकीय व्यावसायिक गन्तव्य हो, जसको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व पनि उत्तिकै छ। यसको जगेर्ना, समवर्धन, प्रवर्धन र संरक्षणमा ठमेल पर्यटन विकास परिषद्ले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ। ठमेल एक नेपाली कला, सीप र सेवाको जीवन्त संग्रहालय हो। यसको संरक्षण गर्नु र प्रवर्धन गर्नु परिषद्को प्रमुख कर्तव्य र जिम्मेवारी हो।
ठमेल क्षेत्रका स्थानीय कला, संस्कृति र सभ्यतालाई पर्यटनको नयाँ प्रोडक्टको रूपमा विकास गरी यसको दिगो विकास गर्न सके, स्थानीयहरूको संस्कृति र सभ्यता संरक्षणमा योगदान पुग्न सक्छ । यसबाट पर्यटकहरूको बसाइ लम्ब्याउन र आर्थिक उपार्जनमा योगदान गर्न सकिन्छ । यस क्षेत्रभित्रका सम्पदाहरूको अध्ययन गरी पर्यटकीय गतिविधिमा संलग्न गर्न सकिएमा ठमेल क्षेत्रको पर्यटनमा थप योगदान पुग्न सक्छ।
ठमेल क्षेत्रभित्र उपलब्ध नेपाली मौलिक वस्तु तथा कला, सेवाका लागि होटेल, रेस्टुरेन्ट, मनोरञ्जन गतिविधि सहितको वातावरण, डिस्को, लाउन्ज, क्लब र बारहरूको समष्टिगत स्वरूप नै ठमेल हो। यी सबै व्यवसायीहरूको संरक्षण र उचित प्रवर्धन हुन सक्दा मात्र राज्यले प्राप्त गर्ने कर, व्यवसायीले प्राप्त गर्ने लाभ र स्थानीय घरधनीहरूले प्राप्त गर्ने घर बहाल र रोजगारी सिर्जनाले समग्र राष्ट्रको प्रतिव्यक्ति आयमा परिवर्तन आउन सक्छ । यसबाट देशको अन्तर्राष्ट्रिय छवि पनि सुधार्न सकिन्छ ।
तथापि, ठमेल क्षेत्रमा विद्यमान केही अराजकता र अनुशासनहीनताका कारण धुमिल बनेको छविलाई सुधार्दै सभ्य, सुसंस्कृत, व्यवसायी मैत्री पर्यटकीय गन्तव्यको रूपमा ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु ठमेल पर्यटन विकास परिषदको अर्को महत्वपूर्ण कर्तव्य हो। हालैका दिनमा परिषद्को विशेष पहल, स्थानीय, प्रदेश र केन्द्र सरकारको सहयोगमा ठमेल क्षेत्रलाई चौबीसै घण्टा चलायमान बनाउने र सम्भावित दुर्घटनाहरूको न्यूनीकरण गर्न बनेको आचारसंहितालाई पूर्ण कार्यान्वयन गरी स्थानीयहरूको मौलिक अधिकार सुनिश्चित गर्दै व्यवसायीहरूको व्यावसायिक मैत्री वातावरण निर्माण गर्दै रोजगार र मुनाफासहितको वातावरण बनाउनु आगामी कार्यसमितिको प्रमुख दायित्व रहनेछ।
व्यावसायिक एकतासहित तीनवटै तहका सरकारसँगको सहकार्यमा यस क्षेत्रभित्रको भौतिक सुधार, सुरक्षा र न्यूनीकरणमा पनि सहजीकरण गर्दै उचित पहल कदमी लिनुपर्ने अर्को महत्वपूर्ण दायित्व रहनेछ । ठमेल क्षेत्रभित्र रहेका विभिन्न वस्तु तथा सेवा प्रदायकहरूको विवरण संकलन, समस्याहरूको सन्दर्भमा सरकारी, गैरसरकारी र स्थानीय सरोकारवालाहरूसँग छलफल गरी समस्या समाधानका लागि उचित पहल गर्ने र मर्यादित सुसंस्कृत पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्नु परिषदको अर्को महत्वपूर्ण कर्तव्य हो । यसका ऐतिहासिक विरासतका विषयमा खोज तथा अनुसन्धान गरी त्यसको संरक्षण र प्रवर्धन गर्न र पर्यटन तथा हस्पिटालिटी अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रयोगात्मक अध्ययनको केन्द्र बनाउन सहयोग गर्नुपर्ने दायित्व पनि परिषदको हो । ठमेल नेपाली कला, वस्तु, सेवाका साथै नेपालभित्र प्राप्त हुने सबै प्रकारका विषयहरूको सूचनाको केन्द्र पनि हो । तसर्थ, विदेशी पर्यटकहरूका लागि नेपालभित्र घुम्न र अनुभव गर्न आवश्यक जानकारी व्यवस्थापन गर्ने एक प्रमुख गन्तव्य पनि ठमेल हो ।
सम्पूर्ण विषयलाई मध्यनजर गर्दै ठमेललाई सम्मानित, व्यवस्थित र मर्यादित केन्द्रको रूपमा विकास गर्न सक्दा नेपालको अन्तर्राष्ट्रिय छविमा पनि परिवर्तन ल्याउन सकिन्छ । ठमेल पर्यटन विकास परिषद्को आगामी कार्यसमिति, त्यसका पदाधिकारी तथा सदस्यहरू र परिषद्ले समन्वय गर्ने स्थानीय तह, प्रदेश र केन्द्र सरकारको समन्वय र सहकार्यमा व्यवसायीहरूको ऐक्यबद्धता साथै स्थानीय घरधनीहरूको सहभागितामा ठमेल क्षेत्रलाई देशकै नमुना गन्तव्यको रूपमा विकास गर्नुपर्ने दायित्व छ ।
नेपालको पर्यटन बजार अन्तर्राष्ट्रिय स्तरमा केही धुमिल हुँदै गएको परिप्रेक्षमा जिम्मेवार र दिगो पर्यटनको अवधारणामा ठमेललाई थप मर्यादित, व्यवस्थित र सुसंस्कृत समाजको रूपमा विकास गर्न सके ठमेललाई अन्तर्राष्ट्रिय स्तरमा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । ठमेल पर्यटन विकास परिषद्ले यसका लागि अग्रभागमा रही व्यवसायीहरूको एकता, सहभागिता र स्थानीयहरूको ऐक्यबद्धता मार्फत आफूलाई अब्बल साबित गर्नुपर्ने गहन जिम्मेवारी पनि छ।
तसर्थ, आगामी हुन गइरहेको ठमेल पर्यटन विकास परिषद्को साधारण सभा र त्यसबाट छनोट हुने नयाँ कार्यसमिति, काम, कर्तव्य, अधिकार तथा क्षेत्रका विषयमा यहाँका स्थानीय घरधनी र व्यवसायी स्पष्ट हुनु अपरिहार्य छ । ठमेलको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक गरिमा जोगाउँदै पर्यटकीय केन्द्र बनाउन सबै एक हुन आदरणीय स्थानीय घरधनीहरू र विभिन्न पेशा तथा व्यवसायमा संलग्नहरूको विशेष अनुरोध गरिन्छ।



