काठमाडौँ । वेस्ट इन्डिजले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले युगाण्डालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछाएको युगाण्डाले १२ ओभरमा अल आउट हुदै ३९ रन मात्र बनाएको हो । यो टी-२० विश्वकपको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम टोटल हो ।
यस अघि २०१४ को विश्वकपमा नेदरल्याण्डसले श्रीलंकाविरुद्ध ३९ रनमै अल आउट भएको थियो ।युगाण्डाका लागि जुमा मियागीले १३ रन बनाउने बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यस्तै वेस्ट इण्डिजका बलर अकील हुसेनए ४ ओभरमा ११ रन दिएर ५ विकेट लिएका थिए । उनी यस विश्वकपमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो ।यो जितपछि वेस्ट इन्डिजको समुह सी मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै युगाण्डाको भने ३ खेलमा २ अंक रहेको छ ।
अब वेस्ट इन्डिजले अर्को खेल जुन १३ मा न्यूजील्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै युगाण्डाले आफ्नो समुह चरणको अन्तिम खेल जुन १५ मा न्यूजील्याण्डविरुद्ध खेल्ने छ ।


