२७ बैशाख २०८१ बिहिवार
एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो ।
६८औं मिनेटमा अल्फोन्सो डेविसले बायर्नलाई अग्रता दिलाएका थिए । ह्यारी केनको पास बायाँ फ्लान्कमा लिएर दायाँ खुट्टामा लगि उनले शक्तिशाली प्रहारका साथ बायर्नलाई समग्रमा एक गोलले अघि लगेका थिए ।
तर ८८औं मिनेटमा रियलले खेलमा बराबरी गर्यो । बायर्नका गोलरक्षक म्यानुएल नुएरले भिनिसियस जुनियरको प्रहार नियन्त्रणमा लिन नसकेपछि जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा जोसेलुले अर्को गोल गर्दै रियललाई जित दिलाए । एन्टनियो रुडीगरको क्रसमा उनले गोल गरेपनि सुरुवातमा रेफ्रीले अफसाइडको निर्णय गरेका थिए । तर भिएआरको सहायताले निर्णय बदलिएपछि रियलले खेलमा अग्रता लियो ।
रियलले अब फाइनलमा उपाधिका लागि अर्को जर्मन टोली बोरुसिया डर्टमुण्डसँग खेल्नेछ । डर्टमुण्डले अर्को सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि समग्रमा २-० को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।


