आइतबार, वैशाख ३१, २०८०
काठमाडौं । राजस्थान रोयल्सलाई सहजरुपले पराजित गरि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग(आइपीएल)मा प्लेअफको सम्भावना कायमै राखेको छ ।
राजस्थानको घरेलु मैदान सवाईमान सिंह स्टेडियममा भएको खेलमा बेंगलोर १ सय १२ रनको फराकिलो अन्तरले विजयी भएको हो । बेंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान १० दशमलब ३ ओभरमा अलआउट हुदै ५९ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि शिमरन हिटमायरले १९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३५ रन बनाए । जोय रुट १० रनमा आउट हुँदा ४ ब्याटर डगआउट भए ।
बेंगलोरका लागि वाईनी पार्नेलले ३ तथा कर्ण शर्मा र माईकल व्रेसवेलले समान २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट १ सय ७१ रन बनायो । बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले अर्धशतकीय ईनिङ खेले । कप्तान फाफले ४४ बलमा ३ चौका र ४ छक्काको सहयोग ५५ रन बनाए । फाफ र म्याक्सवेले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छक्काको सहयोग ५४ रन बनाए ।
राजस्थानका लागि केएम आसिफ र एडम जाम्पाले समान २र२ तथा सन्दीप शर्माले १ विकेट लिए । १२ खेलबाट ६ जित र ६ हारका साथ बेंगलोर पाँचौं स्थानमा उक्लिएको छ । १ ३ खेलबाट ६ जित र ७ हारका साथ राजस्थान छैटौं स्थानमा झरेको छ ।


