शुक्रबार, वैशाख २२, २०८०
एजेन्सी – नेपोली ३३ वर्षपछि इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । उडिनेससँग १–१ गोलको बराबरी खेल्दै नेपोली ५ खेल बाँकी छँदै सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । दोस्रो स्थानको लाजियोमाथि १६ अंकको अग्रता लिएर नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । नेपोलीले यसअघिका दुई उपाधि अर्जेन्टिनाका दिग्गज डिएगो म्याराडोनाको समय सन् १९८७ र १९९० मा जितेका थिए । अहिले नेपोलीको स्टेडियमको नाम नै डिएगो अर्मान्डो म्याराडोना राखिएको छ ।
डासिया एरिना उडिनमा बिहीबार राति भएको खेलको १३औं मिनेटमा सान्डी लोभरिकको गोलबाट घरेलु टोली उडिनेसले अग्रता लिएको थियो । ५२औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएर टोलीलाई च्याम्पियन बनाए ।
यही तीन दशकको अवधिमा नेपोलीले आर्थिक संकटसँगै थुप्रै अवरोह खेपेको थियो । टोली रेलिगेसनमा पर्दै सिरी ‘सी’ समेत खेलेको थियो । नेपोलीले विगत ११ सिजनमा तीन पटक कोपा इटालिया जितेपनि नेपोली समर्थकहरुले सिरी ‘ए’ को उपाधि नै चाहेका थिए । त्यो ३३ वर्षपछि पूरा भएको छ ।
नेपोली च्याम्पियन बनेसँगै सिरी ‘ए’ ले पछिल्लो तीन सिजनमा तीन फरक च्याम्पियन पाएको छ । युभेन्ट्सले लगातार ९ सिजन सिरी ‘ए’ को उपाधि जितेयता त्यसपछिको तीन सिजनमा इन्टर मिलान, एसी मिलान र नेपोली च्याम्पियन बनेको छ ।



