२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 10.8K
    SHARES

  • images
    पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’

    काठमाडौँ । धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ। दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो। पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ।

    सहज सडक यातायातको सुविधाको अभाव र गाजनेको ऐतिहासिक तथा धार्मिक महत्त्वका विषयमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको जगन्नाथ गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्माले बताए।

    ‘तत्कालीन बाइसेचौबिसे राजा दिलिपबम (डिम्ब)ले विसं १९५० को दशकमा बनाएको शिखर शैलीको जगन्नाथ मन्दिरको आकार पृथक छ”, उनले भने, ‘गाजनेको नजिकै रहेको डढेकोटमा तत्कालीन पर्वत राज्यको दरबारको भग्नावशेष छन् । गुफाको डाँडाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ।’

    धार्मिक र पर्यटकीय हिसाबले चर्चित मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको बेनी बजारदेखि गाडीमा एक घण्टाको यात्रामा पुग्न सकिने भए पनि जगन्नाथ मन्दिर, ऐतिहासिक डढेकोट दरबार र गुफाको डाँडो (केभहिल) सुनसान हुने गरेको गाजनेका बासिन्दा यामबहादुर बानियाँले बताए। ‘मुस्ताङ जाने आउने पर्यटक र भक्तजनलाई गलेश्वर, पछै, ढोलथान, जगन्नाथ, डढेकोट, केभहिल, टोड्केमा भित्र्याउन सकेमा उनीहरुको बसाई लम्बिने र स्थानीयवासीको आर्थिक गतिविधिमा सहयोग पुग्ने थियो,’ उनले भने, ‘यसका लागि धार्मिक पर्यटकीय करिडोर बनाएर यातायात र पर्यटन पूर्वाधार बनाउनुपर्ने देखिन्छ।’

    जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, बलभद्र र सुभद्रादेवीको मुर्ति रहेको जगन्नाथ मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासी रामचन्द्र पौडेलले बताए। उनका अनुसार कुखुरा र बङ्गुर नपालिने २५ घरधुरीको बसोबास रहेको गाजने गाउँभित्र मासु र मदिराको पनि उपभोग हुँदैन।

    प्रसिद्ध पौराणिक ग्रन्थ ‘रामायण’का अनुसार महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीस्थित केभहिल प्राकृतिक सौन्दर्य र हिमशृङ्खला दृश्यावलोकन गर्न सकिन्छ।

    समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको केभहिलबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दाबढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दा रुद्रबहादुर श्रेष्ठले बताए।

    गाजने धुरीमा रहेको डढेकोट दरबारमा तत्कालीन समयमा भीषण बज्रपातबाट दरबार नष्ट भएपछि ढोलठानामा नयाँ दरबार निर्माण गरिएको इतिहासमा उल्लेख छ। विशाल, बलशाली र समृद्ध चौबिसी राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरैपछि मात्र बेनी बजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक पुस्तकमा उल्लेख छ।

    विसं १८४२ मा गोरखा–पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यहाँको लोकगीतका आधारमा पनि भन्न सकिन्छ।

    बेनी नगरपालिका–५ का अध्यक्ष गोविन्द बानियाँले केभहिलमा दृष्य अवलोकन केन्द्र र गाजनेदेखि डढेकोट दरबार जोड्ने पदमार्ग निर्माण गरिएको बताए। महायज्ञ आयोजना गरेर सङ्कलित रकमबाट रु ४७ लाख ९१ हजार नौ सय ७३ खर्च गरेर जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको छ।

    पुनःनिर्माण भएको मन्दिरको उद्घाटन गर्न गाजने पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी र विमला गौचनले बेनीदेखि पुलाचौर हुँदै गाजने जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिने प्रतिबद्धता जनाए।

    ‘पोखरादेखि मुस्ताङ र कोरला नाका आवतजावत गर्ने पर्यटकलाई म्याग्दीमा भुलाउन र अडाउन यहाँका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थलको विकास आवश्यक छ,’ मन्त्री जुग्जालीले भने, ‘म्याग्दीलाई व्यापारिक र धार्मिक मार्गका रुपमा विकास गर्ने प्रयास जारी छ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend