बुधबार, मंसिर १३, २०८०
म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले तेस्रो टि२० आई सिरिजमा भारतमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २-१ ले पछि छ । जितको लागि २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रम ब्याटर ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित १ सय ४ रनमा अविजित रहे । यो ग्लेन म्याक्सवेलको टि२० आई करिअरको चौथो शतक हो । ग्लेन म्याक्सवेलले टि२० आईमा सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन् । उनले भारतीय रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन् । म्याक्सवेलको चार मध्य तीन शतक भारतविरुद्ध छ ।
अन्तिम १२ बलमा अष्ट्रेलियालाई ४३ रन आवश्यक थियो । १९ औं ओभरमा अक्षर पटेलले २२ रन खर्चेपछि खेल रोचक बनेको थियो । अन्तिम ६ बलमा अष्ट्रेलियालाई जितको लागि २१ रन चाहिँएको थियो । पहिलो बल प्रसिद्ध कृष्णाले म्याथ्यु वेडलाई चौका दिए । दोस्रो बलमा एक रन दिए । बाँकी चार बलमा १६ रन चाहिँएको थियो । तेस्रो बल ग्लेन म्याक्सवेलले छक्का हानेका थिए । त्यसपछि लगातार तीन चौका हान्दै खेल जिताएका थिए ।
कप्तान म्याथ्यु वेड १६ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा नट आउट रहे । छैटौं विकेटका लागि म्याक्सवेल र वेडले ४० बलमा ९१ रनको साझेदारी गर्दै जित पक्का गराए ।
त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनको यो अन्तरास्ट्रिय करिअरको पहिलो शतक हो ।
भारत पहिलो खेलमा ५५ रन र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ ।



