२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबीच भिडन्त


सञ्चार डबली
  • आइतबार, मंसिर ३ २०८०
  • 9.5K
    SHARES

  • images
    विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबीच भिडन्त

    आइतबार, मंसिर ३, २०८०
    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका निम्ति आज (आइतबार) घरेलु टिम भारतलाई अस्ट्रेलियाले चुनौती प्रस्तुत गर्दै छ । विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । 

    यता, अस्ट्रेलिया भने आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

    फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए । भारत जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो ।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ ।

    २००३ र २०२३ विश्वकपका संयोग

    सन् २००३ को विश्वकपमा अस्ट्रेलियाली टोली च्याम्पियन बन्दा सबै ११ खेल जितेको थियो । फाइनलमा भारतलाई हराउनुअघि अस्ट्रेलियाले समूह चरणमा पनि भारतलाई हराएको थियो। त्यसपछि भारतीय टोलीले कुल आठ खेल जितेको थियो । अब २०२३ को विश्वकपको कुरा गर्ने हो भने भारतीय टोली लगातार १० खेल जितेर फाइनलमा पुगेको छ र उसको नजर अब ११औं जित हासिल गर्दै उपाधि जित्नेमा छ । भारतले समूह चरणमा अस्ट्रेलियालाई हराएको थियो र अब फाइनलमा पनि पराजित गर्ने अवसर छ । अष्ट्रेलियाको टोली यस प्रतियोगितामा कुल आठ खेल जितेर फाइनलमा पुगेको छ ।

    आइसीसी प्रतियोगिताको नकआउट चरणमा हेड टू हेडस्

    आईसीसी प्रतियोगिताको नकआउट चरणमा भारत र अस्ट्रेलियाबीचको यो आठौं भेट हुनेछ । अर्थात् अहिलेसम्म ७ पटक आइसीसीका नकआउट चरणमा यी दुई देशबीच भिडन्त भएको छ । यी दुईबीच एकदिवसीय विश्वकपमा चौथो नकआउट खेल हुनेछ । यसबाहेक टी–२० विश्वकपमा एक, च्याम्पियन्स ट्रफीमा २ र विश्व टेस्ट च्याम्पियनसिपमा एक भिडन्त भइसकेको छ ।

    यी दुईबीच आइसीसीको नकआउट चरणमा पहिलो पटक सन् १९९८ को च्याम्पियन्स ट्रफी क्वाटरफाइनलमा भिडन्त भएको थियो । जुन खेल भारतले ४४ रनले जितेको थियो । भारतले दिएको ३०८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २६३ रन बनाएर अल आउट भएको थियो ।

    त्यसपछि सन् २००० को च्याम्पियन्स ट्रफी क्वाटरफाइनलमा दोस्रो पटक भिडन्त भएको थियो । सो खेलमा भारत २० रनले विजयी भएको थियो । भारतले दिएको २६६ रनको लक्ष्य पछाएको अस्ट्रेलिया २४५ रन बनाउदा अल आउट भएको थियो ।

    त्यसपछि तेस्रो पटक २००३ को विश्वकप फाइनलमा भारत र अस्ट्रेलियाबीच भिडन्त भएको थियो । सो फाइनलमा अस्ट्रेलियाले दिएको ३६० रनको लक्ष्य पछाएको भारत २३४ रन बनाएर अलआउट भएको थियो र खेल अस्ट्रेलियाले १२५ रनले जितेको थियो ।

    त्यसपछि आइसीसीको प्रतियोगिताको नकआउट चरणमा चौथो पटक २००७ को टी(२० विश्वकपको सेमिफाइनलमा भिडन्त भएको थियो । सो खेल भारतले १५ रनले जितेको थियो । भारतले दिएको १८९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १७३ रन मात्र बनाएपछि भारत विजयी भएको थियो ।

    त्यसपछि पाँचौं पटक २०११ को विश्वकप क्वाटरफाइनलमा भिडन्त भएको थियो । यस खेलमा भारत ५ विकेटले विजयी भएको थियो । अस्ट्रेलियाले दिएको २६१ रनको लक्ष्य भारतले ५ विकेट गुमाएर पुरा गरेको थियो ।

    यसपछि २०१५ को विश्वकप सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिडेका थिए । सो खेलमा अस्ट्रेलिया ९५ रनले विजयी भएको थियो । अस्ट्रेलियाले दिएको ३२९ रनको लक्ष्य पछाएको भारत २३३ रनमा अलआउट भएको थियो ।

    त्यसपछि २०२३ को टेस्ट च्याम्पियनसिपमा फेरी एक पटक भारत र अस्ट्रेलिया आमने सामने भएका थिए । सो खेल अस्ट्रेलियाले २०९ रनले जितेको थियो ।

    यसरी आइसीसीका नकआउट प्रतियोगितामा यी दुई देशबीच रोचक ७ भिडन्त भएका छन् । जसमा भारत ४ पटक र अस्ट्रेलिया ३ पटक विजयी भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend