६ कार्तिक २०८०, सोमबार
एजेन्सी – शीर्षक्रमका ब्याटर विराट कोहली र तीव्र गतिका बलर मोहम्मद शामीको उत्कृष्ट प्रदर्शनमा भारतले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै भारत १० अंकका साथ शीर्षस्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ । जितका लागि २ सय ७४ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भाारतका विराट कोहलीले १ सय ४ बलमा ८ चौका र २ छक्कासहित ९५ रनमा आउट भए । उनी म्याट हेनरीको ४८ औं ओभरको चौथो बलमा डिप मिडविकेटमा ग्लेन फिलिप्सबाट क्याच आउट भएपछि करिअरको ४९ औं शतक पूरा गर्न मात्रै पाँच रनले चुकेका थिए ।
त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो ।
न्युजिल्यान्ड ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्डले अव आगामी शनिबार अष्टेलियासँग खेल्नेछ । भारतले आगामी आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।



