२०८० कार्तिक १ बुधबार
काठमाडौं । मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा १-० को जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ ।पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि बढेको हो । नेपालले अब दोस्रो चरण अन्तर्गत समूह एचमा युएइ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।
मंगलबारको खेलमा नेपालले पहिलो हाफमा सुस्त प्रदर्शन गरेपनि दोस्रो हाफको सुरुवातमै अग्रता लिएर जितको आधार तय गरेको थियो । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले पछिल्लो खेलबाट तीन परिवर्तन गर्दै टोली उतारेका थिए ।
२२ औं मिनेटमा दिनेश हेन्जनको क्रसमा उत्सव राईले बक्समा खाली रहेको अवस्था बाट गरेको हेडर पोस्टको माथिबाट बाहिरियो । ३९ औं मिनेटमा लाओसका चोनि वेनपासर्थको बक्स भित्र बाट लिएको प्रहार पोस्टको केही टाढा बाट बाहिरियो । ४२औं मिनेटमा वेनपासर्थबाट आएको प्रहार किरण चेम्जोङले सजिलै बचाए ।
५३ औं मिनेटमा नेपालले अग्रता लियो । अन्जन विष्टले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको पासलाई मनिषले पहिलो टचमा गोलको दिशा दिँदै अग्रता दिलाए । ८२ औं मिनेटमा अन्जनको हेडर प्रयास पोस्टभन्दा थोरै परबाट बाहिरियो ।



