१५ वैशाख, काठमाडौं । मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने भएको छ । एसिया कप क्रिकेटको छनोट प्रतियोगिताको रुपमा जारी एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । मुलपानी ओडिआई मान्यता पाउने नेपालको दोस्रो मैदान हुनेछ । २०२० मा त्रिवि मैदान कीर्तिपुरले मात्र ओडिआई मान्यता पाएको थियो ।
समूह ए को विजेता बनेको नेपाल र समूह बीमा निर्णायक खेलमा हङकङलाई पराजित गरी उपविजेता बनेको कुवेतबीचको सेमिफाइनल शनिबार टियु मैदानमा हुनेछ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ । यस प्रतियोगिता विजेताले समूह ए मा रहेका घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ । ओमान समूह ए को उपविजेता र यूएई समूह बीको विजेताका रुपमा सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।
प्रतियोगिता शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसिसी इमर्जिङ टिम्स एसिया कपमा भने टेस्ट टोलीका यू२३ टोलीले खेल्ने छन् । १० टिम सम्मिलित यो प्रतियोगितामा यूएई, ओमान र नेपाल गरी तीन टिमसँग ओडीआई मान्यता छ ।



