१५ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा नाइन एन एबिटी कल साइन रहेको जहाजले परीक्षण उडान गरेको हो । वि.सं. २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको थियो ।
जहाजका क्याप्टेन मनिस श्रेष्ठले परीक्षण सफल भएको बताए । काठमाडौंबाट यहाँसम्मको दुरी ५० मिनेटको रहेको क्याप्टेन श्रेष्ठले बताए । अब परीक्षण उडानको रिपोर्ट निगमलाई बुझाएपछि नियमित उडानको प्रक्रिया अगाडि बढ्ने श्रेष्ठ बताए ।
रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पछि विमानस्थल पुग्न सकिन्छ । कुल ३३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुंगा विमानस्थल समुद्र सतहदेखि एक हजार ५२६ मिटरको उचाइमा रहेको छ ।
निगम र रेसुंगा नगरपालिकाबीच सम्झौता अनुसार अब नियमित उडान गर्ने रेसुङ्गा ननगरपालिका नगरप्रमख खिलध्वज पन्थीले बताए । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ५ सय पर्दछ । जहाज चढेर काठमाडौं जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । विमानस्थलमा गत पुस २४ गते तारा एयरको १८ सिट क्षमताको जहाजले पनि सफल उडान गरेको थियो ।


