एजेन्सी – आजदेखि शुरु भएको आइसिसी क्रिकेट विश्वकप २०२३ को उद्धघाटन खेलमा न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित हात पारेको छ । ईङल्याण्डले दिएको २८३ रनको लक्ष्य पछाइरहेको न्यूजील्याण्डका लागि कोनवे र रविन्द्रले शतक बनाएका हुन् । पहिला कोनवेले शतक पुरा गर्दै यस विश्वकपको पहिलो शतक बनाए भने त्यसपछि २३ बर्षिय रविन्द्रले यस विश्वकपको दोस्रो र आफ्नो एकदिवसीय क्यारियरको पहिलो शतक बनाएका हुन् ।
जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा डेभन कन्वे १ सय २१ बलमा १९ चौका र ३ छक्कासहित १ सय ५२ रनमा अविजित रहे । कन्वेको यो ओडिआई करिअरको पाँचौं र उत्कृष्ट प्रदर्शन हो । अर्का युवा अलराउन्डर रचिन रविन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १ सय २३ रनमा नट आउट भए । रविन्द्रको यो पहिलो शतक हो । ओपनर विल योंग साम करनको बलमा शून्यमै जस बटलरबाट क्याच आउट भएका थिए । त्यो समय न्युजिल्यान्डले १० रन जोडेको थियो ।
त्यसपछि कन्वे र रविन्द्रले २ सय ७३ रनको दोहोरो शतकीय अविजित साझेदारीका साथ सहज जित पक्का गराए । साम करनले ६ ओभरमा २ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन । इंग्ल्यान्डका शीर्षक्रमका ब्याटर जो रुटले ८६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिएका थिए । रुट स्पिनर ग्लेन फिलिप्सको बलमा बोल्ड आउट भए । कप्तान जस बटलर ४२ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए । ओपनर जोनी बेयरस्टो ३५ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर डेविड मलान १४, ह्यारी क्रुक २५, मोईन अली ११, लियाम लिभिङस्टोन २०, साम करन १४ र क्रिस वोक्स ११ रनमा आउट भए । आदिल राशिद १५ र मार्क वुड १३ रनमा नटआउट रहे ।
न्युजिल्यान्डको जितमा तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर मिचेल सान्टनारले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर १ विकेट लिए । ग्लेन फिलिप्सले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।
इंग्ल्यान्डले अव मंगलबार बंगलादेशसँग धर्मशालामा खेल्नेछ । न्युजिल्यान्डले दोस्रो खेल सोमबार नेदरल्यान्ड्ससँग हैदराबादमा खेल्नेछ । शुक्रबार नेदरल्यान्ड्स र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।



