बिहीबार, असोज १८, २०८०
काठमाडौँ । आजदेखि आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदै छ । क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् । आजदेखि शुरु भएर फाइनल खेल नोभेम्बर १९ मा हुने छ । नेपाल भने यस विश्वकपमा छनौट हुन असफल भएको थियो ।
प्रतियोगिताको यस संस्करणमा विश्वका १० देशले भाग लिएका छन् । यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् । विश्वकपको यस संस्करणमा नेदरल्यान्ड्स एकमात्र एसोसिएट राष्ट्र हो ।
प्रतियोगिताको पहिलो खेल विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी रंगशालामा हुनेछ । आजको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।
अहिलेसम्मका विजेता :
यस अघि सम्पन्न १२ वटा विश्वकपमा अहिलेसम्म अस्ट्रेलियाले सबैभन्दा बढी पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।
त्यसैगरी भारत र वेस्टइण्डिजले २/२ पटक विश्वकप जितेका छन् । जसमा भारतले १९८३ र २०११ मा जितेको थियो भने वेस्टइण्डिजले १९७५ र १९७९ मा जितेको थियो । जबकी यस विश्वकपमा वेस्टइण्डिज छनौट हुन असफल भएको छ ।
त्यसैगरी इङल्याण्ड (२०१९), पाकिस्तान (१९९२) र श्रीलंका (१९९६) ले एक एक पटक विश्वकपको उपाधि जितेका छन् । त्यसैगरी न्यूजील्याण्ड दुई पटक २०१५ / २०१९ मा फाइनलमा पुगेर पनि विश्वकपको विजेता बन्न सकेको छैन ।



