२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोसीको भन्दा १३ मिटर बढी उचाइबाट हेलम्बुमा बञ्जीजम्प


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 9.5K
    SHARES

  • images
    भोटेकोसीको भन्दा १३ मिटर बढी उचाइबाट हेलम्बुमा बञ्जीजम्प

    १७ असोज २०८०, बुधबार

    चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा एक सय ७३ मिटर उचाइबाट साहसिक खेल बञ्जीजम्प गर्न पाइने भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बनेको पुलमा बञ्जीजम्प खेल सञ्चालन गर्न लागिएको हो । कूल तीन सय ७० मिटर लम्बाइमा बनेको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । गाउँपालिका अनुसार उमा÷थानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भई पुल निर्माण सम्पन्न भएको हो ।

    गुम्बाको सहर भनेर चिनिने हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न बञ्जीजम्प खेलाउने उद्देश्यका साथ पुल निर्माण गरिएकोे गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । बञ्जीका लागि गाउँपालिकाले गत वर्ष डाएनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने जिम्मा दिएको थियो । डिपिआरले रु पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ ।

    ह्योल्मो जातिको बसोबास रहेको हेलम्बु धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनका लागि ६० किलोमिटर लामो ग्रेटट्रेलको निर्माण कार्य सुरु भइसकेको छ । “पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने यो अभियान हो”, गाउँपालिका अध्यक्ष शेर्पाले भने, “झोलुङ्गे पुल तयार भएसँगै अब बञ्जीजम्पको कामको थालनी गरिनेछ ।”

    साहसिक खेल बञ्जी खेलाइने पुलले स्थानीय पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल निर्माण भएसँगै एक गाउँबाट अर्को गाउँ पुग्न पहिले खर्चिँदै आएको झन्डै पाँच घण्टाको समय बढीमा पाँच मिनेटमा पार गर्न सकिने गाउँपालिकाका सबइन्जिनियर शेरबहादुर राईले बताए। “पहिले जनताले सास्ती पाइरहेका थिए”, उनी भन्छन्, “पुल बनेपछि यात्रा सहज भएको छ, उकाली ओराली गर्नुपर्ने झन्झन्टबाट गाउँवासीले छुट्कारा पाएका छन् ।”

    पुल निर्माणपछि त्यहाँबाट नजिकै रहेको सिमिसिदाङ हिमाल पनि देख्न सकिन्छ । मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको मुहानसमेत हेर्न पाइने हुँदा पर्यटक आकर्षित हुने गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले बताए । कूल एक सय ६० मिटर उचाइको बञ्जीजम्प २०५६ सालदेखि जिल्लाको भोटेकोसी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोसीको भन्दा १३ मिटर बढी उचाइको हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend