२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एसियाली खेलकुदमा नेपालको आशा अब कुन-कुन खेलमा?


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 14.2K
    SHARES

  • images
    एसियाली खेलकुदमा नेपालको आशा अब कुन-कुन खेलमा?

    चीनको हाङझाउमा १९औं संस्करणको एसियाली खेलकुद जारी छ। औपचारिक उद्घाटन भएको एघारौं दिनको खेल जारी रहँदा नेपालले एउटा पनि पदक जित्न सकेको छैन। नेपाल भाग लिएका अधिकांश खेलमा पदकविहीन बनेको छ।

    महिला कबड्डीले एसियाली खेलकुदमा नेपाललाई पदकविहीनबाट जोगाउने सम्भावना छ। महिला कबड्डी बाहेक नेपालले पदकको आशा गरेका केही खेलमा भने चुनौती पेश गर्न बाँकी छ।

    २९ खेलमा सहभागिता जनाएकोमा नेपालले बास्केटबल, बक्सिङ, क्रिकेट, साइक्लिङ, इस्पोर्ट्स, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, रग्बी, सुटिङ, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, पुरूष भलिबल र उसुमा चुनौती पेस गरिसकेको छ।

    यी सबै खेलमा नेपाल पदकविहीन बनेको छ।

    बक्सिङ र तेक्वान्दोमा नेपालका एक एक खेलाडी अन्तिम आठमा पुगेका थिए। यस्तै उसुमा पनि नेपाली खेलाडी अन्तिम आठबाट अघि बढ्न सकेनन्। पुरूष क्रिकेटमा नेपालले मंगलबार भारतसँग अन्तिम आठमा प्रतिस्पर्धा गरे पनि नतिजा नेपालको पक्षमा आउन सकेन।

    नेपालको महिला कबड्डी, ब्याडमिन्टन, महिला भलिबल, आर्चरी, भारोत्तोलन र स्क्वासका खेल जारी छन्। कुस्ती, कराते, क्यानोइङ र ब्रेकिन (डान्स स्पोर्ट्स) का खेल सुरू हुन बाँकी छन्। कुस्तीमा ४ खेलाडी, क्यानोइङ तथा ब्रेकिनमा १-१ खेलाडी र करातेमा ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

    महिला कबड्डीको समूहको पहिलो खेलमा नेपालले बंगालदेशलाई पराजित गरेको थियो। मंगलबार इरानसँग पराजित भएको नेपाली टिमको समूहका खेल सकिएका छन्। अब भोलि इरानले बंगलादेशलाई पराजित गरे नेपाली महिला कबड्डीमा सेमिफाइनल पुग्दै पदक पक्का गर्नेछ।

    ब्याडमिन्टनमा नेपाली खेलाडीहरूले कमजोर प्रदर्शन गर्दा सुरूवाती चरणमानै हार ब्यहोरिरहेका छन्।

    महिला भलिबलबाट नेपाल बाहिरिसकेको छ। यद्यपि नेपाली महिला भलिबल टिमले वरीयताका लागि भोलि भारतसँग खेल्दैछ।

    भारोत्तोलन र स्क्वासमा पनि नेपालको खेल बाँकी छन्। भारोत्तोलनमा नेपालको लक्ष्य प्रदर्शन सुधार गर्नु हुनेछ। स्क्वासमा प्रतिद्वन्द्वीसँग खेल्नु नै नेपाली खेलाडीका लागि कठिन चुनौती बनिरहेको छ।

    एसियाली एथ्लेटिक्समा नेपालले आफ्नो प्रदर्शनका लागि मात्र खेल्ने गर्छ। यसपालिको एसियाली खेलकुदमा नेपाली खेलाडी पदक जित्नभन्दा आफ्नो प्रदर्शन सुधारमा केन्द्रीत छन्।

    बाँकी रहेका कुस्ती, कराते, क्यानोइङ, ब्रेकिन (डान्स स्पोर्ट्स) मध्ये नेपालले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ। जसमा कराते, क्यानोइङ र ब्रेकिनबाट नेपालले पदकको आशा गरेको छ।

    नेपालले क्यानोइङ र ब्रेकिनमा एसियाली खेलकुदमा डेब्यू गर्न लागेको हो। क्यानोइङमा नेपालका गणेश गुरूङले प्रतिस्पर्धा गर्दैछन्। गुरूङले आइसल्यान्डमा आफ्नो कामसँगै एसियाली खेलकुदका लागि तयारी गरेका थिए। उनी नेपालको राष्ट्रिय प्रतियोगिताका विजेता समेत हुन्। उनले आइल्यान्डमा भएको प्रतियोगितामा दोस्रो स्थान समेत हात पारेका थिए।

    यस्तै ब्रेकिनमा दीपक लामाले चुनौती पेश गर्नेछन्। उनले एसियाली खेलकुदको तयारी बेल्जियममा गरेका थिए। त्यहाँ उनले विश्व च्याम्पियनसिपमा समेत सहभागी जनाएका थिए।

    करातेमा मोहमद शेखु अलाम, निरुपा दोङ तामाङ, अरिका गुरूङ, सोनिम मानन्धर, अलिसा रास्कोटी मगर, विप्लवलाल श्रेष्ठ, सबिना श्रेष्ठ र सन्तोष श्रेष्ठ भिड्दैछन्।

    कराते नेपालले एसियाली खेलकुदमा पदक जितिसकेको खेल हो। नेपालले करातेबाट अहिलेसम्म ३ कास्य जितेको छ। पछिल्लो पटक सन् २०१४ को इन्चोन एसियाली खेलकुदमा नेपालले एक मात्र कास्य जित्दा त्यो करातेबाट प्राप्त भएको थियो। नेपालका लागि विमला तामाङले काताबाट कास्य जितेकी थिइन्।

    नेपाली कराते टिमका प्रशिक्षक कुशल श्रेष्ठले करातेबाट यसपटक पदकको आशा राखेको बताए। भर्खरै इन्डोनेसियामा भएको विश्व सितोरियो कराते च्यम्पियनसिमा भाग लिएर त्यहाँ अभ्यास गरेको नेपाली टिमको आत्मविश्वास बढेको छ। इन्डोनेसियाको च्याम्पियनसिपमा नेपालकी अरिका गुरूङले स्वर्ण जितेकी थिइन्। यस्तै मोहमद अलाम, विप्लव श्रेष्ठ र निरुपा दोङले रजत जित्दा नेपालले थप कास्य जितेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend