बुधबार, वैशाख १३, २०८०
काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।
बारा निर्वाचन क्षेत्र नं। २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । भर्खरै सार्वजनिक मत परिणामअनुसार यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधारीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर ५ हजार ८१ रहेको छ ।
त्यस्तै, एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् । पाँचौँ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेका छन् ।
आइतबार भएको उपनिर्वाचनमा ६९ हजार १०७ मत खसेको थियो । गएको मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १.४५ बजे प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री सरोज यादव, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालगायत उपस्थिति रहेको थियो ।

