२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सेतो पुतलीले बढायो आँखामा ‘सापु’ को जोखिम


सञ्चार डबली
  • शुक्रबार, असोज ५ २०८०
  • 8.5K
    SHARES

  • सेतो पुतलीले बढायो आँखामा ‘सापु’ को जोखिम
    लक्षणहरू देखिएको २४ देखि ४८ घण्टासम्म उपचार नपाए आँखाको ज्योति गुम्न सक्ने !

    काठमाडौँ — बूढानीलकण्ठकी ४५ वर्षीया महिला केही दिनअघि घर सफा गर्दै थिइन् । सफा गर्दै गर्दा भित्तामा सेतो पुतली देखियो । सेतो पुतलीले आँखामा संक्रमण गराउन सक्छ भन्नेमा सचेत छिन् उनी । उनले पञ्जा लगाइन् र कुर्सीमाथि चढेर पुतली धपाउन खोजिन् तर त्यो पुतली उडेर उनको चस्माको फ्रेममा बस्यो । उनले हत्तपत्त चस्मा पुछेर हात धोइन् । तर २ घण्टापछि नै आँखा बिझाउन थाल्यो। अस्पतालमा जाँच गराउँदा आँखामा सेतो पुतलीको रौँ देखियो। समयमा नै अस्पताल पुग्नाले लक्षण जटिल हुन पाएन ।

    त्यसैगरी ५ दिनअघि बूढानीलकण्ठका एलकेजीमा पढ्ने ५ वर्षीय बालकलाई पनि आँखा दुख्ने, बिझाउने र आँखा हेर्नै नसकिने लक्षण देखियो । जाँच गराउँदा आँखामा सेतो पुतलीको झुस देखियो।

    सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको छ । प्राय: वर्षा यामपछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापू महामारीका रूपमा देखिन्छ ।

    बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रकी सहप्राध्यापक तथा युभिआइटिस स्पेसलिस्ट डा. रञ्जु खरेल सिटौलाका अनुसार पहिले प्राय: गण्डकी प्रदेशमा मात्र देखिने यो वर्ष काठमाडौँको विभिन्न ठाउँमा पनि देखिन थालेको छ । उनी भन्छिन्, ‘केही वर्ष पहिले एकदम फाट्टफुट्ट मात्र देखिन्थ्यो राजधानीमा । बालुवाटार,स्वयम्भू, भक्तपुर, बूढानीलकण्ठ आदि ठाउँबाट केस रिपोर्टेड भएर आएका छन् ।’

    डा. सिटौला भन्छिन्, ‘बाग्लुङ, कास्की, र गोरखालगायत ठाउँमा पनि देखिन सुरु भइसकेको छ ।१० वटा केस जति आइसक्यो भन्ने छ ।काठमाडौँमा पनि धेरै बिरामी देखिन सुरु गर्नु भनेको सेतो पुतलीले पनि बासस्थान फेरिरहेको देन्खिन्छ । मध्यपहाडी भागमा मात्र यसको विशेष पकड देखिए तापनि अब भने सबैतिर फैलिने भइरहेको छ । सबैजना सचेत भएर बस्नुपर्ने हुन्छ ।’

     

    नेपालमा मात्रै देखिने यो रोग सन् १९७५ मा आँखारोग विशेषज्ञ डा. मदन उपाध्यायले पत्ता लगाएका हुन् । सेतो धर्से पुतलीको संसर्गबाट यो रोग लाग्ने अध्ययनले देखाएका छन् । यो रोग पहिलोपटक पोखराको नारायणटार भन्ने ठाउँमा देखिएको थियो। र अहिले पनि बढी केस पोखरा आसपासका क्षेत्रमा देखिँदै आएको छ । सामान्यतया प्रत्येक दुई वर्षमा देखिने आँखा रोग देखिने गरेको यो रोगको लक्षण देखा परेको २४ देखि ४८ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने चिकित्सक बताउँछन् ।

    सन् २०२१ मा करिब १५५ वटा केशहरु भेटिएका विभिन्न अस्पतालको तथ्यांकले बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)ले यो वर्षदेखि देशभरका आँखा अस्पतालबाट संक्रमितको तथ्यांक राख्न थालेको छ ।

    विज्ञहरूका अनुसार यो रोग सधैं एउटै आँखामा हुन्छ र अर्को आँखाबाट अर्कोमा सर्दैन । साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्दैन र वयस्कभन्दा प्रायः बालबालिकामा नै देखिने हुन्छ ।अस्पतालमा आउने बिरामीको अनुपातले पनि त्यही पुष्टि गर्छ ।

    राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)की सहप्राध्यापक तथा तिलगंगा प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरले भदौ अन्तिम सातादेखि सापुका लक्षण लिएर बिरामी आउन थालेको बताउँछिन् । उनी भन्छिन्–‘हालसम्म १० जना संक्रमित आइसकेका छन् । ३ वटा केस काठमाडौँका छन् भने बाँकी जिल्लाबाहिरका ।लक्षण लिएर आउने अधिकांश बालबालिका नै छन्। ’

    डा‍. मानन्धरका अनुसार उज्यालो हेर्दा गाह्रो हुने, अचानक एउटा मात्र आँखा रातो हुने, आँखाको गेडी दुख्ने र दृष्टि एकदम छिटो कम हुनेलगायत यसका लक्षण हुन् । ‘ बिरामी समयमा आइपुगे जटिल हुन पाउँदैन । उपचार गर्न आँखामा आइ ड्रप्स मात्र पुग्दैन त्योसँगै एन्टिबायोटिक इन्जेक्सन हालिन्छ । जटिल भएमा सर्जरी भिट्रेक्टोमी गरिन्छ,’ उनी भन्छिन् । उनले आँखामा हुने ३ पत्रमा पिप जमेको खण्डमा तुरुन्त अपरेसन गरेर नफाले ४८ घण्टा देखि ७ दिनमा आँखाको भित्री पत्र कुहिने र अन्धोपन नै हुन सक्ने बताउँछिन्।

    बीपी कोइराला लायन्स नेत्र अनुसन्धान केन्द्रले सापुको यकिन कारण पत्ता लगाउनका लागि यसको नमुना संकलन पनि गरिरहेको छ । हालसम्मको अध्ययनले सेतो पखेटामा कालो तेर्सो धर्को भएको सेतो पुतलीले संक्रमण गराएको बताउँछिन् डा. सिटौला । त्यो सेतो पुतलीको शरीरको अन्तिम भागमा बाक्लो खैरो रौँजस्तो थुप्रिएको हुने र त्यो रौँभित्र विषादी हुने उनको भनाइ छ ।

    नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर डा कमल खड्काले असोज महिनामा हालसम्म ४ वटा संक्रमित अस्पताल आइपुगेको बताउँछन् । आँखामा संक्रमण गराउने यो पुतली विशेषगरी उच्च उज्यालोमा आउने भएकाले धेरै उज्योलोमा नबस्ने, सेतो पुतलीको सम्पर्कमा नआउने, झुल भित्र सुत्न उनको सुझाव छ ।

    विज्ञहरूका अनुसार यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जानुपर्छ ।उपचार गर्न आफूखुसी औषधि वा जडिबुटीको प्रयोग गर्नुहुँदैन ।

    डा. सिटौला भन्छिन्, ‘काठमाडौँमा पनि केस बढ्न थालेका छन् । पानी पर्न रोकिएपछि बत्ती सकेसम्म कम चलाउने, अनावश्यक ठाउँमा बत्ती नबाल्ने र आफ्नो कोठाभित्र सेतो पुतली छिर्न र बस्न नदिनका लागि झ्याल ढोकामा जाली राख्ने र सुत्ने बेलामा पनि झुल लगाएर सुत्नु राम्रो हुन्छ।’ उनका अनुसार यो रोग जटिल भएमा ज्योति गुम्ने त छँदैछ, बिस्तारै त्यो आँखाभित्रको पानी सुकेर आँखा सानो हुँदै पनि जान्छ ।

    सापु रोगका लक्षणहरू के-के हुन् ?

    –एक्कासि एउटा आँखा रातो हुनु

    –आँखा दुख्नु

    –चिप्रा नलाग्नु

    –उज्यालोमा हेर्न नसक्नु

    –आँखाको दृष्टिमा तत्कालै कमी हुनु

    –उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु

    रोकथाम कसरी गर्ने ?

    –सेतो पुतलीको संसर्गबाट टाढै रहने

    –धेरै उज्यालो सेतो बत्ती नबाल्ने

    –साँझ र राति झ्यालढोका बन्द गर्ने

    –सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने

    –सुत्ने कोठामा बत्ती निभाउने वा मधुरो बत्ती बालेर झुल लगाएर मात्र सुत्ने

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend