एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको समूह ए अन्तर्गत बुधबार सम्पन्न खेलमा बायर्नको घरेलु स्टेडियम एलियान्ज एरिनामा भएको खेलमा बायर्नले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । बायर्नका लागि लिरोय साने, सर्ज गनाब्री, ह्यारी केन र म्याथिस टेलले १-१ गोल गरे । युनाइटेडका लागि रासमुस होइलन्डले १ र कासेमिरोले २ गोल गरे ।
सोही समुहमा गालाटासरे र एफसी कोपेनहेगनले २–२ गोलको बराबरी खेलेर अंक बाँडेका थिए। जितपछि बायर्नको समूहमा तीन अंक भएको छ। गालाटासरे र एफसी कोपेनहेगनको एक(एक अंक छ । पुछारमा रहेको युनाइटेडको भने कुनै अंक छैन ।
बुधबार सम्पन्न खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा च्याम्पियन्स लिग पहिलो पटक खेलिरहेको युनियन बर्लिनमाथि संघर्षपूर्ण जित निकालेको छ । उच्च लयमा रहेका मिडफिल्डर जुड बेलिङघमको इन्जुरी टाइम गोलको मदतले रियल १-० ले विजयी भएको हो । बेलिङघम यस समरमा क्लबमा आबद्ध भएदेखि म्याड्रिडका लागि ६ खेलमा छैटौं गोल गर्न सफल रहे ।
उनले इन्ज्युरी समयको चौथो मिनेटमा फेडेरिको भाल्भर्डेको प्रहार उनको खुट्टामा आएपछि बललाई सजिलै जालीको दिशा देखाएका थिए । म्याड्रिडले दोस्रो हाफमा दुई पटक पोस्टमा प्रहार गरेको थियो । पहिलो पटक च्याम्पिंस लिगमा स्थान बनाएको बर्लिन भने निराश भएर घर फर्कन बाध्य रहयो ।
पाँच वर्षअघि जर्मन फुटबलको दोस्रो श्रेणीमा खेलिरहेको युनियनले च्याम्पियन्स लिगको अर्को खेलमा आफ्नो स्पोर्टिङ ब्रागा विरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दा पुनरागमन गर्ने आशा राख्नेछ । म्याड्रिडले सोहि दिन नापोलीको सामना गर्नेछ ।



