मंगलबार, वैशाख १२, २०८०
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले १४ हजार ६९ मतान्तरसहित विजयी भएका छन् ।
वाग्लेले ३४ हजार ९१९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।
०७९ मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचन जितेका वाग्ले अर्थविद् हुन् । उनी राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । उनी २०७४ साउन १९ गते आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा आयोगको सदस्य बनेका थिए ।वाग्लेले पार्टी परिवर्तन गरी चुनाव लडेका हुन् । उनले गएको चैत १६ गते कांग्रेस परित्याग गरेका थिए । त्यसपछि रास्वपा प्रवेश गरी उमेदवार बनेका हुन् ।

