२०८० भदौ १५ शुक्रबार
काठमाडौँ । यस बर्षको युइएफए प्लेयर अफ द इयरको अवार्ड म्यानचेस्टर सिटीबाट खेल्ने नर्वेका इर्लिंग हालाण्डले जितेका छन् ।गएराती सम्पन्न एक कार्यक्रममा युरोपियन फुटबल फेडेरेसन ९युइएफए० ले बर्षका उत्कृष्ट खेलाडीको घोषणा गरेको हो ।
हालाण्डले अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी र आफ्नै टिमका केभिन डी ब्रुनेलाई पछि पार्दै युरोपको उत्कृष्ट बर्ष खेलाडीको अवार्ड जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् ।
हालाण्डले गत सिजनमा सिटीका लागि च्याम्पियन्स लिगका ११ खेलमा एक असिस्टसहित १२ गोल गरेका थिए भने प्रिमियर लिगमा ३७ खेलमा ८ असिस्टसहित ३६ गोल गरेका थिए ।
त्यस्तै बार्सिलोना र स्पेनकी महिला खेलाडी एइताना बोनमाती युरोपको महिला बर्ष उत्कृष्ट खेलाडी बनेकी छन् । उनले केही दिन अघिमात्र सम्पन्न महिला विश्वकपको उपाधि समेत जितेको हुन् । उनी विश्वकपमा उत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् । त्यस्तै म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षकमा इंग्ल्यान्डकी सरिना विगमनले बाजी मारिन् ।



