बुधबार, भदौ १३, २०८०
काठमाडौं – एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ ।
नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ । उसो त नेपाली टिममा आत्मविश्वास पनि देखिन्छ ।
नेपालले एसिया कप खेल्ने आठौं टोली बन्दैछ । एसोसिएट टोलीमा युएई, हङकङपछि तेस्रो टोली बन्नेछ । पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ । सन् १९९२ को विश्वकप तथा २००९ को टि२० विश्वकप विजेता पाकिस्तानसँग खेल्दा नेपाललाई कुनै दबाब हुनेछैन ।
नेपाललाई गुमाउनु केहि छैन । नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै विश्वलाई देखाउन चाहन्छ । एसिया कपमा राम्रो गर्न सके नेपाली खेलाडीलाई विदेशी फ्रेन्जाइज लिगमा अवसरहरु खुल्न सक्छन् । नेपालका कप्तान रोहित पौडेल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले खेलमा उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ । कप्तान रोहितबाट नेपाल जिम्मेवारी इनिङ खेल्न चाहन्छ ।
नेपालले भीम सार्की र अर्जुन साउद मध्य एकलाई खेलाउनेछ । तेस्रो नम्बरमा विकेटकिपरको रुपमा अर्जुनलाई खेलाउने सम्भावना छ । आसिफको किपिङ राम्रो नहुँदा अर्जुनलाई मौका दिने सम्भावना देखिन्छ । अर्जुनले विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध ४८ रन बनाउँदै राम्रो सम्भावना देखाएका थिए । कुशल मल्ल र गुलशन झा आक्रामक ब्याटर हुन् ।
नेपाल बिना दबाब उच्च मनोबलका साथ खुलेर खेल्न सक्नुपर्छ । नेपाललाई गुमाउनु केहि छैन । यदि नेपालले जादुमयी प्रदर्शनका साथ जित निकाल्छ भने त्यो विश्वकप जिते भन्दा कम हुनेछैन ।
पाकिस्तानले नेपालसँग खेल्ने आफ्नो प्लेइङ ११ नै सार्वजनिक गरेको छ । प्रमुख खेलाडीलाई मैदान उतार्ने भएको छ । ओपनर फखार जमान र इमाम उल हक छन् । जमान नेपाललाई घातक बन्न सक्ने ब्याटर हुन् । २०१८ मा जिम्बावेविरुद्ध ओडिआईमा दोहोरो शतक हानेका उनी टिकेपछि ठूलो इनिङ खेल्ने गर्दछन् ।
बाबर आजम र मोहम्मद रिजवान पाकिस्तानका प्रमुख ब्याटर हुन् । विश्व ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरको विकेट हरेक नेपालीको लागि ड्रिम हुनेछ । वर्तमान विश्व क्रिकेटका बादशाह बाबरलाई आउट गर्नु नेपाली बलरलाई सामान्य उपलब्धी हुनेछैन । उनी टिकेको खण्डमा जित झन् सहज हुनसक्छ ।
“नेपालमा हामीबाट ठूलो अपेक्षा छ । सबै नेपालीले यो एसिया कपका बारेमा सपना देखिरहेका छन् । हामी दुई दशकदेखि क्रिकेट खेलिरहेका छौँ । र, एसिया कपजस्तो उच्चस्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो,” प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले भनेका थिए ।



