सोमबार, भदौ ११, २०८०
काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै सन्दीप पाकिस्तान गएका हुन् ।
त्यसअघि, सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।
एक नाबालिगको बलात्कार आरोप मुद्दाको पेसी यही भदौ २१ गतेलाई तोकिएपछि सन्दीप पाकिस्तान जाने निश्चित भएको हो । उक्त मुद्दामा आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो ।
गएको मंगलबार सन्दीपबाहेक नेपाली टिम एसिया कपका लागि पाकिस्तान गएको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।



