सिड्नी – इंग्ल्यान्डमाथि जित निकाल्दै स्पेन पहिलोपल्ट फिफा महिला विश्वकपको च्याम्पियन बनेको छ । इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन पहिलो पटक च्याम्पियन बनेको हो ।
स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको फाइनलमा स्पेनलाई च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्न सफल भएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा लौरेन हेम्पको प्रहार क्रसबारमा लाग्दै फर्कदा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । काउन्टर अट्याकमा जर्जिया स्टानवेको क्रसमा रचेल डालीको कटब्याकलाई हेम्पले गरेको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।
लगत्तै १७औं मिनेटमा इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पसले अल्वा रेडोन्डोको क्लोज रेन्जको प्रहारलाई विफल पार्दा स्पेन पनि अग्रता लिनबाट चुक्यो । मारिओना कालडेन्टेको क्रसलाई साल्माले राम्रोसँग प्रहार गर्न नसकेपनि डिफलेक्ट हुँदै आएको बललाई रेडोन्डोले गरेको प्रहारमा गोलरक्षक मारी बाक बनिन् । २९औं मिनेटमा कप्तान ओल्गा कारमोनाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । मोरिओना कालडेन्टेको दिएको पासमा डिफेन्डर रहेकी कप्तान ओल्गाले ओभरल्यापमा जाँदै सहजै गोल गर्न सफल भइन् ।
यससँगै २३ वर्ष ६९ दिनकी ओल्गा विश्वकपको फाइनलमा गोल गर्ने चौथो कान्छी खेलाडी बनेकी छिन् । विश्वकपमा गोल गर्ने कान्छी खेलाडी एलेक्स मोर्गान हुन् । उनले सन् २०११ मा २२ वर्ष १५ दिनको उमेरमा गोल गर्दै कीर्तिमान बनाएकी थिइन् । ३७औं मिनेटमा एरिन पारेडेसको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो ।
दुवै टोली पहिलोपटक फाइनलमा पुगेको हो । महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ । यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन् ।



