२०८३, मंसिर ४ गते

images
Logo

Nov 20 2026 | २०८३, मंसिर ४ गते

images
  • शुक्रबार, मंसिर ४ २०८३

राष्ट्र बैंकका हाकिमको तलब - भत्तामा लाखौँ खर्च, कसले कति पाए सुविधा ?


सञ्चार डबली
  • बिहीबार , मंसिर ३ २०८३
  • 2.5K
    SHARES

  • राष्ट्र बैंकका हाकिमको तलब - भत्तामा लाखौँ खर्च, कसले कति पाए सुविधा ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा आफ्ना पदाधिकारी तथा कर्मचारीको तलब, भत्ता, उपदान, पेन्सन र अन्य सेवा–सुविधामा ५ अर्ब ४० करोड ९० लाख रुपैयाँ खर्च गरेको छ। 

    राष्ट्र बैंकको वार्षिक प्रतिवेदन २०८२/८३ ले गभर्नर, डेपुटी गभर्नर, सञ्चालक समिति सदस्य तथा उच्च व्यवस्थापनका पदाधिकारीले प्राप्त गरेको पारिश्रमिक र सुविधाको विवरण सार्वजनिक गरेको हो।

    प्रतिवेदनअनुसार समीक्षा वर्षमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले तलब, सञ्चालक समिति बैठक भत्ता र अन्य सुविधासहित कुल ४६ लाख ४८ हजार ९५६ रुपैयाँ प्राप्त गरेका छन्।

    उनले वार्षिक तलबबापत १६ लाख ३२ हजार रुपैयाँ, सञ्चालक समिति बैठक भत्ताबापत ५ लाख ६७ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ बुझेका छन्।

    डेपुटी गभर्नरले पाए ६२ लाखसम्म

    राष्ट्र बैंकका डेपुटी गभर्नरमध्ये सबैभन्दा बढी रकम किरण पण्डितले प्राप्त गरेका छन्। गत चैत २४ गते डेपुटी गभर्नर नियुक्त भएका पण्डितले कार्यकारी निर्देशकको कार्यकालमा प्राप्त गरेको तलब तथा भत्तासमेत जोड्दा समीक्षा वर्षमा कुल ६१ लाख ९८ हजार ९९५ रुपैयाँ बुझेका छन्।

    उनले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, सञ्चालक समिति बैठक भत्ताबापत २ लाख २५ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ प्राप्त गरेका छन्।

    त्यस्तै, २०८२ फागुन २५ गते कार्यकाल पूरा गरी बिदा भएका निवर्तमान डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले आंशिक अवधिका लागि क्रमशः ५४ लाख १८ हजार ९७१ रुपैयाँ र ५१ लाख १६ हजार ७७१ रुपैयाँ प्राप्त गरेका छन्।

    डा. ढुङ्गाना तिम्सिनाले तलबबापत ९ लाख ४९ हजार २६० रुपैयाँ, बैठक भत्ताबापत २ लाख ३४ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ४२ लाख ३५ हजार ७११ रुपैयाँ बुझेकी छन्।

    त्यसैगरी, मिश्रले तलबबापत ९ लाख ४९ हजार २६० रुपैयाँ, सञ्चालक समिति बैठक भत्ताबापत २ लाख ७० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ३८ लाख ९७ हजार ५११ रुपैयाँ प्राप्त गरेका छन्।

    सञ्चालक समितिका सदस्यले कति पाए सुविधा ?

    राष्ट्र बैंकको सञ्चालक समितिका सदस्यलाई प्रतिबैठक ९ हजार रुपैयाँ बैठक भत्ता दिने व्यवस्था छ। समीक्षा वर्षमा सञ्चालक समितिको बैठक ६४ पटक बसेको थियो।

    सञ्चालक समितिका गैरकार्यकारी सदस्य तथा पदेन सदस्यका रूपमा रहने अर्थ सचिवले तलब नबुझे पनि बैठक भत्ता र अन्य सुविधा प्राप्त गरेका छन्। समीक्षा वर्षमा सञ्चालक समितिका सदस्यहरूको तलब, बैठक भत्ता तथा अन्य सुविधामा कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च भएको छ।

    प्रतिवेदनअनुसार अर्थ सचिव डा. घनश्याम उपाध्यायले बैठक भत्ताबापत ५ लाख ४० हजार रुपैयाँ र अन्य सुविधाबापत ३ लाख ४८ हजार १२० रुपैयाँ गरी कुल ८ लाख ८८ हजार १२० रुपैयाँ प्राप्त गरेका छन्।

    त्यस्तै, सञ्चालक सदस्य चिन्तामणि शिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार रुपैयाँ र अन्य सुविधाबापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ गरी कुल २४ लाख ४६ हजार ९६९ रुपैयाँ बुझेका छन्।

    अर्का सञ्चालक डा. शंकरप्रसाद आचार्यले बैठक भत्ताबापत ४ लाख ५९ हजार रुपैयाँ र अन्य सुविधाबापत १८ लाख २४ हजार ८१३ रुपैयाँ गरी कुल २२ लाख ८३ हजार ८१३ रुपैयाँ प्राप्त गरेका छन्।

    त्यसैगरी, डा. रवीन्द्रप्रसाद पाण्डेले बैठक भत्ताबापत ५ लाख ७६ हजार रुपैयाँ र अन्य सुविधाबापत २३ लाख ३५ हजार २०१ रुपैयाँ गरी कुल २९ लाख ११ हजार २०१ रुपैयाँ बुझेका छन्।

    पदाधिकारीको सुविधामा करिब ३ करोड खर्च

    आर्थिक वर्ष २०८२/८३ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्य गरी आठ जना पदाधिकारीको तलब, बैठक भत्ता तथा अन्य सुविधामा कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च भएको छ।

    उनीहरूको तलबबापत ४८ लाख ९६ हजार १०० रुपैयाँ, बैठक भत्ताबापत ३४ लाख २० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २ करोड १५ लाख ९७ हजार ६९७ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

    राष्ट्र बैंकका कार्यकारी सञ्चालक अर्थात् गभर्नर र डेपुटी गभर्नरले तलब तथा विभिन्न भत्ता प्राप्त गर्छन्। सञ्चालक समितिका सदस्यहरूले भने बैठक भत्ताका अतिरिक्त इन्धन, सवारी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक सेवा र औषधोपचारजस्ता सुविधा पाउने व्यवस्था छ।

    त्यसैगरी, सञ्चालक समिति सदस्य तथा विशिष्ट श्रेणीका अधिकृत (कार्यकारी निर्देशक) समेत समेटिने मुख्य व्यवस्थापन पदाधिकारीहरूको समग्र पारिश्रमिकमा समीक्षा वर्षमा २० करोड ५५ लाख ११ हजार रुपैयाँ खर्च भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

     

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend