काठमाडौँ / वाणिज्य बैंकहरूले मंसीर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार कात्तिक महिनाको तुलनामा मंसीर महिनामा कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ६ वटा बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १४ वटा बैंकले यथावत् राखेका छन्।
नेपाल बैंक र सानिमा बैंकले मंसीर महिनामा पनि वाणिज्य बैंकहरूमध्ये नै उच्च ब्याजदर कायम राखेका छन्। संस्थागत निक्षेपकर्ताका लागि भने प्रायः बैंकहरूले २.७५ प्रतिशतदेखि ३.५१ प्रतिशतसम्मको ब्याजदर तोकेका छन्।
कुन कुन बैंकले घटाए ब्याजदर
मंसीर महिनाका लागि ब्याजदर समायोजन गर्ने ६ वाणिज्य बैंकहरूमा कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंक रहेका छन्।
कात्तिक महिनामा व्यक्तिगत निक्षेपमा ४.९५ प्रतिशत ब्याजदर दिँदै आएको कृषि विकास बैंकले मंसीरका लागि १.३० प्रतिशत बिन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको दर भने २.७५ प्रतिशतमा स्थिर छ।
त्यस्तै कात्तिकमा ४.५ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको ब्याजदर रहेकाे माछापुच्छ्रे बैंकले साे दर मंसीरमा १.०० प्रतिशत बिन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको दर ३.० प्रतिशत यथावत् छ।
एनएमबि बैंकले व्यक्तिगत निक्षेपको दर ४.५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत र संस्थागत निक्षेपको दर ३.५ प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत बनाएको छ।
यता, लक्ष्मी सनराइज बैंककाे कात्तिकमा ४.० प्रतिशत रहेको व्यक्तिगत ब्याजदर घटेर मंसीरमा ३.७५ प्रतिशत पुगेको छ। संस्थागत दर ३.२५ प्रतिशतमा स्थिर छ।
कुमारी बैंककाे ब्याजदर कात्तिकको ३.७ प्रतिशतबाट सामान्य घटेर मंसीरमा ३.६१ प्रतिशत कायम भएको छ। संस्थागत दर २.७५ प्रतिशत यथावत् छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिकमा ३.७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको ब्याजदर मंसीरमा ३.६५ प्रतिशत कायम भएको छ। संस्थागत दर २.७५ प्रतिशत छ।
ब्याजदर स्थिर राख्ने र उच्चतम ब्याजदर भएका बैंकहरू
मंसीर महिनामा १४ वटा वाणिज्य बैंकहरूले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत निक्षेपतर्फ ४.९५ प्रतिशत ब्याजदर दिँदै मंसीर महिनामा सबैभन्दा बढी ब्याज दिने बैंकको सूचीमा शीर्ष स्थान ओगटेको छ।
त्यसैगरी सानिमा बैंकले ४.५ प्रतिशत व्यक्तिगत निक्षेप दर कायम राखेको छ, जसको संस्थागत दर पनि ३.५१ प्रतिशत रहेको छ । जुन वाणिज्य बैंकहरूमध्ये संस्थागत निक्षेपतर्फ सबैभन्दा बढी हाे ।
त्यसैगरी हिमालयन बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक, र ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपमा ४.० प्रतिशत ब्याजदर कायम राखेका छन्।
प्रभु बैंकले ४.२५ प्रतिशत, सिटिजन्स बैंकले ३.८५ प्रतिशत, एभरेस्ट बैंकले ३.७५ प्रतिशत र नबिल बैंकले ३.७५ प्रतिशत ब्याजदर दिएका छन्।
सबै वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर संस्थागत निक्षेपको भन्दा बढी रहेको देखिन्छ। संस्थागत निक्षेपतर्फ सानिमा बैंककाे ३.५१ प्रतिशत, नेपाल बैंककाे ३.५० प्रतिशत, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र एनएमबि बैंकले ३.२५ प्रतशत ब्याजदर दिएका छन् जुन तुलनात्मक रूपमा बढी हाे । बाँकी अधिकांश बैंकहरूमा संस्थागत ब्याजदर २.७५ प्रतिशतदेखि ३.०५ प्रतिशतको दायरामा सीमित छ।



