काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने तयारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघि बढाएको छ । यसका लागि आवश्यक सुरक्षा व्यवस्था तथा न्यूनतम पूर्वाधारको सुनिश्चितता गर्ने विषयमा प्रशासनले रणनीतिगत तयारी गरिरहेको जनाएको छ ।
प्रशासनले सूचना जारी गर्दै काठमाडौंका दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै चौबिसै घण्टा खुला गर्ने निर्णयअनुसार सञ्चालनमा रहेको जनाएको छ । प्रशासनका अनुसार संघीय राजधानीसमेत रहेको काठमाडौं जिल्लाका सम्पूर्ण क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने उद्देश्यसहित आवश्यक तयारी भइरहेको छ । त्यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्ने प्रशासनको भनाइ छ ।
त्यस्तै, यातायात, व्यापार व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्रसमेत चौबिसै घण्टा सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी छिट्टै बैठक आयोजना गरिने प्रशासनले जनाएको छ ।
प्रशासनले आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्थासहित बृहत् तयारी पूरा भएपछि मात्रै काठमाडौं जिल्लाका सम्पूर्ण क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने स्पष्ट पारेको छ । तर, हाललाई दरबारमार्ग र ठमेलजस्ता यसअघि नै चौबिसै घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीले भने अर्को सूचना जारी नभएसम्म साविककै निर्धारित समयअनुसार व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।


