काठमाडौं। नबिल बैंकले सार्वजनिक बिदाको दिनमा पनि ग्राहकलाई निरन्तर वित्तीय सेवा दिने उद्देश्यले ३६५ दिने बैंकिङ काउन्टर सेवा सञ्चालन गर्ने भएको छ।
बैंकले सूचना जारी गर्दै कार्तिक २८ र २९ गते ६ प्रदेशका ८ वटा शाखा कार्यालामार्फत काउन्टर खुला रहने जानकारी गराएको हो।
बैंकका अनुसार कोसी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज तथा बाग्मती प्रदेशको तीनधारा र ललितपुर शाखाबाट सेवा प्रवाह हुनेछ। त्यस्तै, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज धम्बोजी तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखाबाट ग्राहकले बैंकिङ कारोबार गर्न सक्नेछन्।
बाग्मती प्रदेशको तीनधारा शाखा दिउँसो १ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म खुला रहनेछ। तीनधारा बाहेकका अन्य सबै तोकिएका शाखा भने बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सञ्चालन हुनेछन्।
३६५ दिने बैंकिङ काउन्टरबाट ग्राहकले अधिकतम १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न र २ लाखसम्म रकम झिक्न सक्ने सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।



