नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले बुधबारदेखि काठमाडौंमा उच्चस्तरीय बैठक बस्ने भएको छ।
बैठकमा नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारी सहभागी हुनेछन्। बैठकमा भाग लिन एसएसबीका महानिर्देशक संजय सिंघलको नेतृत्वमा भारतीय टोली मंगलबार नेपाल आइपुग्ने कार्यक्रम छ।
नेपालतर्फको टोलीको नेतृत्व सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले गर्नेछन्। बैठकमा नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्था, सीमापार हुने गतिविधि, सूचना आदानप्रदान तथा दुवै सुरक्षा निकायबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विषयमा छलफल हुने बताइएको छ।
एपीएफ र एसएसबीबीच यस्तो समन्वय बैठक हरेक वर्ष आयोजना हुँदै आएको छ। पालैपालो नेपाल र भारतमा आयोजना हुने बैठकको अघिल्लो अर्थात् नवौँ संस्करण गत वर्ष भारतमा सम्पन्न भएको थियो।


