काठमाडौँ । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा आइतबार पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार आइतबार दिउँसाे करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो । पानीबोटमा चालकसहित १५ जना सवार थिए ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी, सुनसरीबाट खटिएको प्रहरी टोलीले चालकसहित १२ जनाको उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो । तीमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की करिब ५२ वर्षीया लिला राई, नामथर र ठेगाना नखुलेकी करिब ६–७ वर्षीया बालिका तथा पहिचान नखुलेका करिब ४०–५० वर्षीय पुरुष रहेका छन् ।
दुर्घटनामा उद्धार गरिएकामध्ये पानीबोट चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का करिब २४ वर्षीय सुमन मगरसहित नौ जना सकुशल रहेका छन् । उद्धार गरिएका अन्य व्यक्तिहरूमा भोजपुरको हतुवागढी गाउँपालिका–४ का विष्णु सुनार, तीर्था रसाइली सुनार, पूजा तिरुवा, प्रज्वल तिरुवा, देवेन्द्र राई, रञ्जित राई र मोहन सुनार तथा झापाको कनकाई नगरपालिका–४ की निता मगर रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा झापाको कनकाई नगरपालिका–४ का करिब सात वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की करिब २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी करिब २२ वर्षीया मनु राई बेपत्ता छन् । बेपत्ता शिवक निता मगरका छोरा हुन् ।
बेपत्ता तीन जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जना सशस्त्र प्रहरी घटनास्थलमा खटिएका छन् ।
सप्तकोशी नदी क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


