वैशाख ८, २०८० सञ्चारडबली संवाददाता
काठमाडौँ - नेपालका बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा ओमानविरुद्ध कीर्तिमानी विष्फोटक शतक प्रहार गरेका छन् । कुशलले ५९ बलमा शतक पूरा गरे । कुशलले ९ चौका र ९ छक्कासहित प्रहार गर्दै शतक पूरा गरेका हुन् ।
स्पिनर अकिब इलियासलाई ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै शतक पूरा गरेका थिए । उनको यो कुनैपनि अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् ।
यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । यसअघि एकदिवसीय खेलमा गत फ्रेब्रुअरीमा स्कटल्यान्डविरुद्ध बनाएको ८१ रन उनको उच्च स्कोर थियो ।
टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३९ ओभरमा ६ विकेट गुमाउँदै २ सय ९ रन बनाएको छ । कुशल ६० बलमा ९ चौका र ९ छक्कासहित १ सय १ रनमा क्रिजमा छन् । उनलाई सोमपाल कामीले ९ रनमा साथ दिएका छन् ।

