गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक बाढीपहिरोका कारण अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । सडकमार्ग सञ्चालनमा नआएपछि अहिले पोखराबाट मुस्ताङ जाने र मुस्ताङबाट बाहिरिने यात्रुका लागि हवाई मार्ग मुख्य विकल्प बनेको छ ।
जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार यात्रुको चाप बढेपछि तारा र समिट एयरले नियमितभन्दा बढी उडान गरिरहेका छन्। यसअघि दुवै कम्पनीका जहाजले दैनिक पाँच–पाँच उडान गर्दै आएकोमा अहिले सात–सात वटासम्म उडान गरिरहेका छन्। उडान सङ्ख्या बढाइए पनि यात्रुको चाप व्यवस्थापन गर्न कठिन भइरहेको उनले बताए ।
पर्यटकीय याम सुरु भएकाले यसै पनि पोखरा–जोमसोम हवाई मार्गमा यात्रुको चाप बढ्ने समय हो। त्यसमाथि असोज ८ देखि ११ गतेसम्म भएको भारी वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न ठाउँमा क्षति पुर्याएपछि हवाई यात्रामा थप चाप परेको हो ।
जोमसोम विमानस्थलका अनुसार अहिले मुस्ताङ जाने विदेशी पर्यटकसँगै नेपाली यात्रुको सङ्ख्या पनि बढेको छ। सोह्रश्राद्धका समयमा मुक्तिनाथ दर्शन र कागबेनीमा पितृतर्पणका लागि नेपाल तथा भारतबाट आउने हिन्दु तीर्थयात्रीको चापसमेत रहने भएकाले हवाई यात्रुको सङ्ख्या बढेको हो ।
एयरलाइन्स कम्पनीले बिरामी, अशक्त तथा विदेशी पर्यटकलाई यात्रामा प्राथमिकता दिइरहेका छन्। त्यस्ता यात्रुलाई सहज रूपमा सेवा उपलब्ध गराउन स्थानीय प्रशासन र विमानस्थल कार्यालयले समेत सहजीकरण गरिरहेको विमानस्थल प्रमुख शर्माले बताए ।
उनका अनुसार पर्यटकीय याममा सामान्य अवस्थामै पोखरा–जोमसोम उडानको माग बढी हुने गरेको छ। अहिले सडकमार्गसमेत अवरुद्ध भएपछि यात्रुको चाप थपिएको हो। सडक सञ्चालनमा आएपछि हवाई यात्रुको चाप पनि क्रमशः घट्ने अपेक्षा गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार जोमसोम क्षेत्रमा दिउँसोको समयमा हावाहुरी चल्ने भएकाले अधिकांश उडान बिहानको समयमा गर्नुपर्ने अवस्था छ। दिनभर उडान गर्न सकिएको भए यात्रुको चाप व्यवस्थापन गर्न सहज हुने भए पनि मौसमका कारण त्यसो गर्न नसकिएको उनले बताए।
अधिकांश पोखरा–जोमसोम उडान मध्याह्न १२ बज्नुअघि नै हुने गरेका छन्। जोमसोम विमानस्थलमा दिउँसो हावाको गति बढ्ने भएकाले उडान सञ्चालनमा मौसम प्रमुख चुनौतीका रूपमा रहने गरेको छ।
वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द भएको पोखरा–जोमसोम हवाई सेवा भदौको पहिलो सातादेखि पुनः सञ्चालनमा आएको थियो। हरेक वर्ष वर्षायाममा मौसम र ‘भिजिबिलिटी’का कारण यो हवाई सेवा प्रभावित हुँदै आएको छ।
यसपटक असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीले कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकका विभिन्न भागमा क्षति पुर्याएपछि सडक यातायात प्रभावित भएको हो। सडक अवरुद्ध भएको १२ दिन बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
सडकमार्ग बन्द रहेसम्म पोखरा–जोमसोम हवाई सेवा मुस्ताङसँगको मुख्य यातायात माध्यमका रूपमा रहनेछ। तर, मौसमका कारण उडानको समय सीमित हुने भएकाले यात्रुको चापअनुसार सेवा विस्तार गर्न चुनौती देखिएको छ। सडक सञ्चालनमा आएपछि भने यात्रुको ठूलो हिस्सा पुनः स्थलमार्गमा फर्किने अपेक्षा गरिएको छ।


