काठमाडौँ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज दुइ उच्चस्तरीय भेटवार्ता गर्दैछन् । अर्थमन्त्री डा. वाग्लेको सचिवालयका अनुसार आज उनले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग भेटवार्ता गर्दैछन् ।
उक्त भेटवार्तामा नेपालसँगको आर्थिक साझेदारी, हालैको भोटेकोशी बाढी पश्चातको आर्थिक क्षति र अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ ।
‘छलफल र भेटवार्तामा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग कुराकानी हुनेछ,’ सचिवायले उल्लेख गरेको छ ।


