काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टअन्तर्गत काठमाडौंमा रहेको माया मनोर बुटिक होटल, पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टमा उपलब्ध विभिन्न सेवामा १० प्रतिशतदेखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ। बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरेर पनि उक्त सुविधा लिन सकिने जनाइएको छ।
यससँगै मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने अटो लोन सञ्चालनमा ल्याएको जनाएको छ।
सम्झौतासम्बन्धी जानकारी बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले दिएका छन्।



