काठमाडौँ / रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २१ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माणका लागि प्रवद्र्धक कम्पनी र सहवित्तीयकरणमा सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापन सम्झौता भएको छ।
आयोजनाको कुल लागत ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ। त्यसमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अगुवाइमा नेपाल बैंक लिमिटेड र नेपाल पूर्वाधार विकास बैंक लिमिटेडमार्फत ३ अर्ब ४२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जा प्रदान गर्ने सहमति भएको छ। बाँकी रकम स्वपुँजीबाट व्यवस्थापन गरिनेछ।
सहवित्तीयकरण कर्जातर्फ राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ४२ करोड रुपैयाँ, नेपाल बैंकको १ अर्ब रुपैयाँ र नेपाल पूर्वाधार विकास बैंकको १ अर्ब रुपैयाँ लगानी रहनेछ।
आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले आयोजना तथा बैंकका प्रतिनिधिहरूको उपस्थितिमा बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित समारोहमा सम्झौतापत्र आदानप्रदान गरिएको हो।
राष्ट्रिय वाणिज्य बैंकले यस प्रकारको आयोजनामा वित्तीय साझेदारका रूपमा अगुवाइ गर्न पाउनु गौरवको विषय भएको जनाएको छ। आयोजनाबाट कर्णाली क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उपकार्यकारी अधिकृत भीमप्रसाद घिमिरेका अनुसार सम्झौतामार्फत आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन सुनिश्चित गरिएको हो।



