२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्र विरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डकाे चेतावनी


सञ्चार डबली
  • शुक्रबार, असोज २ २०८३
  • 1.0K
    SHARES

  • images
    दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्र विरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डकाे चेतावनी

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दशैं–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

    शुक्रवार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै दाहालले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको बताए ।

    उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरुद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको बताए । दाहालले सरकारमाथि सुकुम्बासी, अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाए ।

    ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ,’ उनले भने, ‘सरकारले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ ।’

    सरकारका गतिविधिविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको दाहालले बताए । त्यसका लागि तयारी भइरहेको उनको भनाइ छ ।

    ‘त्यसका विरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौँ,’ उनले भने । दाहालले चाडपर्वपछि ‘प्रतिक्रान्तिकारी षड्यन्त्र’विरुद्ध नयाँ पहलकदमी, प्रतिवाद र आन्दोलन अघि बढाउने बताए ।

    ‘चाडपर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ,’ उनले भने ।

    सरकारका क्रियाकलापका कारण केही महिनाभित्रै जनतामा रहेको भ्रम हट्दै गएको दाहालले दाबी गरे । स्थापित राजनीतिक दल, नेता र उनीहरूका एजेन्डाप्रति जनताको आकर्षण पुनः बढ्दै गएको उनको भनाइ छ ।

    ‘अहिले केही महिनाभित्रै यो नयाँ भनिएका सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ । जुन भ्रम थियो त्यो च्यातिँदै छ,’ उनले भने ।

    दाहालले आफू मधेस, वागमतीलगायत देशका विभिन्न क्षेत्रमा पुग्दा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण बढ्दो क्रममा रहेको महसुस गरेको बताए । ‘हामी मधेश, वागमती वा देशका जुनसुकै क्षेत्रमा जाँदा मैले के महसुस गरेको छु भने, जनतामा फेरि नेपाली कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढ्दो छ,’ उनले भने ।

    सबै नेता–कार्यकर्ता आ–आफ्नो ठाउँबाट जनतामा पुगेर पार्टीका विषय बुझाउन सके आन्दोलनमा जनता सहभागी हुने अवस्था रहेको दाहालले दाबी गरे ।

    सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको पनि दाहालको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend