काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय दमकमार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर तथा सक्सन मेसिन हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य उपचारका लागि अत्यावश्यक यी उपकरण विशेषगरी सर्पदंशलगायत आकस्मिक अवस्थाका बिरामीको उपचारमा महत्त्वपूर्ण सहयोगी हुने बैंकले जनाएको छ ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई कार्डियो मोनिटर तथा सक्सन मेसिन हस्तान्तरण गरेका हुन् ।
उपकरण ग्रहण गर्दै रेडक्रस सोसाइटीकी सभापति बुढाथोकीले बैंकप्रति धन्यवाद व्यक्त गरिन् ।
उनले सहयोगबाट सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न कार्डियो मोनिटर तथा श्वासप्रश्वाससम्बन्धी आकस्मिक अवस्थामा आवश्यक सहयोग पुर्याउन सक्सन मेसिन उपयोगी हुने बताइन् ।
कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनलाई थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए ।
उनले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।
उक्त सहयोगले दमक क्षेत्रका नागरिकलाई आवश्यक पर्दा थप सहज स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
कार्यक्रममा बैंकका कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।



