२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बाढीले पुल बगाएपछि रसुवा–नुवाकोटमा फड्के बनाएर आवागमन सुरु


सञ्चार डबली
  • सोमबार, भदौ २९ २०८३
  • 1.4K
    SHARES

  • images
    बाढीले पुल बगाएपछि रसुवा–नुवाकोटमा फड्के बनाएर आवागमन सुरु

    रसुवा–नुवाकोट सडकखण्डमा बाढीले पुल बगाएपछि अवरुद्ध भएको पैदल आवागमनलाई सहज बनाउन वैकल्पिक फड्के र तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

    फलाखु खोलामाथिको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सडकखण्डमा आवागमन प्रभावित भएको थियो। तत्कालको समस्या समाधान गर्न बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के र स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए।

    उनका अनुसार बेत्रावतीमा फड्के निर्माण भएसँगै पैदल यात्रुका लागि आवागमन सहज भएको छ। नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म आउजाउ गर्न सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बताए। फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोग रहेको समाजसेवी गणेश श्रेष्ठले जानकारी दिए।

    यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए। तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।

    स्याफ्रुबेँसीमा तुइन निर्माण भएपछि उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो र ग्रेलगायत क्षेत्रका बासिन्दालाई आवतजावतमा राहत पुगेको छ। बेत्रावतीको फड्के बनेपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि आवागमन सहज भएको छ।

    स्थानीयवासीले भने फड्के र तुइनले तत्कालका लागि आवागमन सहज बनाए पनि दीर्घकालीन समाधानका लागि बेलिब्रिज निर्माण गर्न माग गरेका छन्। बाढीले क्षति पुर्‍याएका सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिँदै छिटोभन्दा छिटो बेलिब्रिज निर्माण गर्न उनीहरूले आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend