काठमाडौँ / भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरवारविहीन भएका परिवारलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा सङ्कलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका सञ्चालक तथा कर्मचारीका तर्फबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराएको थियो।
त्यसैगरी, प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको छ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रभु बैंकले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै सम्पर्कविहीन नागरिकहरूको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ।
प्रभु बैंकले विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



