काठमाडौं । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपले ३ करोड ८१ लाख ५१ हजार रूपैयाँ बराबरको आर्थिक तथा खाद्यान्न सहयोग उपलब्ध गराएको छ।
ग्रुपअन्तर्गत सञ्चालित यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाको प्रा.लि.ले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा नगद ३ करोड ५१ लाख ५१ हजार रूपैयाँ जम्मा गरेका हुन् ।
उक्त रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी तथा चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
नगद सहयोगका अतिरिक्त कम्पनीले बाढीबाट अति प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ तथा पीडितहरू राखिएका अस्थायी आश्रयस्थलहरूमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट चाउचाउ’ राहत सामग्रीका रूपमा वितरण गरेको जनाएको छ ।
विपद्को यस कठिन घडीमा आवश्यकता अनुसार थप राहत सामग्री पठाउन तयार रहेको यशोदा फुड्सको विज्ञप्तिमा उल्लेख छ।



